शनिबार, वैशाख ८, २०८१

ओलीले शंकर पाेखरेललाई च्याप्दा अरू नेता चिढिए

मेरोन्यूज २०७८ मंसिर १७ गते १७:०१

काठमाडौं । नेकपा एमालेभित्र शंकर पोखरेल मदन भण्डारी र केपी शर्मा ओली दुवैले मन पराएका नेता हुन् ।

नेपालको बामपन्थी आन्दोलनमा पोखरेल स्थापित युवा नेताभित्र पर्छन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक क्षमता र संगठनात्मक कार्य क्षमतालाई भण्डारी र ओलीले प्रशंसा गर्ने गरेका थिए । भण्डारीको अवसानपछि करिब ३० वर्ष ओलीको सामिप्यतामा रहेर काम गरे ।

ओलीको साथमा कोही नहँुदा पनि पोखरेलले निरन्तर साथ दिएका थिए । अध्यक्ष ओलीको ‘थिंक ट्याङ्क’ नै पोखरेल हुन् । ओलीलाई अप्ठेरो परेको बेलामा साथ दिने पोखरेललाई पार्टीभित्र कार्यकारी तहमा स्थापित गर्न ओलीलाई ठूलो चुनौति रहेको थियो ।

दशौं महाधिवेशनबाट पोखरेललाई स्थापित गर्न नसके आगामी महाधिवेशनपछि ओली समूह तितरवितर हुने र त्यसपछि शक्तिहिन भएपछि पोखरेललाई कसैले पनि साथ दिन नसक्ने अवस्था आउने थियो । त्यही बुझेर ओलीले मंसिर १० देखि १२ गते तीन दिन ठूलो मेहनतका साथ पोखरेललाई सर्वसम्मत महासचिव बनाउने कसरत गरे ।

‘अन्तिम समयमा विष्णु पौडेललाई अर्को पटक पार्टीको नेतृत्वमा पुर्याउने र त्यसक्रममा शंकरलाई वरिष्ठ उपाध्यक्ष बनाउने शर्तसहित पौडेललाई उपाध्यक्षमा बढुवा गरे । तर आगामी दिनमा महासचिव पोखरेलले संगठनमा कस्तो पकड बनाउँछन् भन्नेमा निर्भर रहन्छ ।’– एमालेका एक नेता भन्छन् ।

आउदो महाधिवेशनमा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, युवराज ज्ञावाली, सुवास नेम्वाङले राजनीतिक रुपमा अवकाश लिने भएकाले विष्णु पौडेल र सुरेन्द्र पाण्डे मध्ये एक अध्यक्ष हुने र अर्को वरिष्ठ उपाध्यक्ष हुनुपर्नेछ तर हालका महासचिवले पोखरेलनै फड्को मारेमा दुवै जनाको अवस्था वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमा सीमित हुनुपर्नेछ ।

‘अहिलेको पदाधिकारी र केन्द्रीय सदस्यको टिम हेर्दा शंकर पोखरेललाई बलियो बनाउनेगरी आएको छ’, ती नेताको भनाई छ । उनका अनुसार पार्टी अध्यक्ष ओली पनि अहिले यही चाहन्छन् । त्यतिमात्र होइन हाल राष्ट्रपति विद्यादेवी भण्डारी पनि शंकर पोखरेललाई स्थापित गर्न चाहन्छिन् ।
‘अन्तिम समयमा शंकर पोखरेलले विष्णु पौडेलसँग नभड्निे मनस्थिति बनाइसकेका थिए तर शित निवासबाट दबाब बढ्यो त्यो दबाबलाई ओलीले थेग्न सकेनन्’, ओलीसँगै टिम बनाउन सक्रिय रहेका तीन नेताको दावी छ । चौतर्फी दबाब बढेपछि ओलीले वरिष्ठ उपाध्यक्ष दावी गरेका सुवास नेम्वाङ र विष्णु पौडेललाई बोलाएर मनाएका थिए । तर उनीहरु यसबाट खुशी नदेखिएपनि ओलीका अगाडी विद्रोह गर्न तयार भएनन् ।

त्यसपछि एमालेको दशौं महाधिवेशनबाट पार्टी केपी ओलीले चाहेजस्तो ‘किचन क्याबिनेट’ बन्यो । एमालेको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएका टिम नै अहिलको ओलीको ‘किचन क्याविनेट’ बनेको हो । अध्यक्ष ओलीसँग रहेको अहिलेको टिम वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्म हेर्दा राजनीतिक रुपमा कठोर रहेको छ ।

वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो ओली सरकारलाई सहयोग गर्ने र सर–सल्लाहकार समूहमा रहेर बसेकै टिमले पार्टीलाई आफ्नो कब्जामा लिएको छ । ओलीलाई अप्ठेरो पर्ने वित्तिकै लुम्बिनी प्रदेशबाट कुदेर आउने शंकर पोखरेल महासचिव बनेका छन् ।

प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमाल उपमहासचिव बनेका छन् । शालीन ढंगले ओलीलाई सहयोग गर्ने प्रदीप ज्ञावाली पनि उपमहासचिव बनेका छन् । संयोगचाहि यो छ कि नवौं महाधिवेशनमा उपमहासचिवमा हारेका शंकर पोखरेल सर्वसम्मत महासचिव भए भने नवौं महाधिवेशनमै सचिवबाट पराजित भएका विष्णु रिमाल उपमहासचिव भए ।

अहिलेको महाधिवेशनमा सबैभन्दा अलोकप्रिय रहेका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेल महासचिव तथा विष्णु रिमाल उपमहासचिव बनाउनु ओलीका लागि सबैभन्दा ठूलो सफलता रह्यो ।

शंकर पोखरेलको राजनीतिक पृष्ठभूमि

भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिका निर्वाह गरेका छन् ।

वि.सं. २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा जन्मेका पोखरेललाई जनताको बहुदलीय जनवादका व्याख्याताका रुपमा लिने गरिन्छ ।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷२०६३ को जनआन्दोलनमा काठमाडाैंको आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडौँमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनी शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलमा उनको सक्रिय सहभागीता थियो ।

माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव थिए । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए ।

संविधानसभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उनी सचिव थिए ।

पहिलो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पार्टीको आठांै राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एकहुन् । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवांै महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो ।

राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले माधव नेपाल प्रधानमन्त्री भएको बेला २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिका थिए । पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया