बिहीबार, चैत १५, २०८०

कांग्रेस प्रदेश १ अधिवेशन : घिमिरे र थापाबीच कडा प्रतिष्पर्धा

सिटौंलालाई देउवाको समर्थन

सञ्जिता खनाल २०७८ मंसिर १७ गते १४:५०

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर १ को अधिवेशनको उद्घाटन आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले गरे । बिहीबारबाट सुरु भएको सातप्रदेश मध्ये ६ प्रदेशमा शुक्रबार मनोनयदर्ता र शनिवार मतदान हुदैछ ।

प्रदेश १ अधिवेशनमा प्रदेश सभापतिमा संस्थापन पक्षबाट झापाका उद्धव थापा र संस्थापन ईतर समुहका मोरङका गुरुराज घिमिरेबीच कडा टक्कर पर्ने भएको छ ।

थापा कांग्रेसका तेस्रो धार मानिने कृष्ण प्रसाद सिटौंला निकट मानिन्छन् । १४ औं महाधिवेशनको प्रदेश अधिवेशनमा थापालाई देउवा समुहले पनि साथ दिने भएको छ । संस्थापन पक्षले थापाले उम्मेदवारी दिने बुधबार निर्णय गरेको थियो । थापाले राजनीति यात्रा २०३४ सालमा कांठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघ इकाईबाट सुरु गरेका थिए । बीपी कोइरालाको सुरक्षा दस्तामा रहेर समेत थापाले काम गरेका थिए । थापा यसभन्दा अघि दुई कार्यकाल जिल्ला सभापति भइसकेका छन् ।

प्रदेश १ मा १४ जिल्ला छन् । जसमा ७ जिल्लामा संस्थापन पक्षले जितेको छ । झापामा देउवासँग एलायन्स भएको सिटौला पक्षका सभापति छन् । यो हिसाबमा थापालाई ८ जिल्ला सभापतिको साथ हुनेछ । जिल्ला समिकरण हेर्दा संस्थापन पक्ष हावी देखिन्छ । थापाले आफू प्रदेशको संगठन सञ्चालन गर्न योग्य रहेकाले नै प्रदेश सभापतिमा उम्मेदवारी दिएको दाबी गरेका छन् ।

यस प्रदेशमा एक हजार ७ सय ७० जना प्रदेश प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ । यता, संस्थापन ईतर समुहबाट प्रदेश सभापतिका उम्मेदवार बनेका घिमिरेलाई शेखर कोइराला, मिनेन्द्र रिजाल र महेश आचार्यको बलियो साथ छ । नेपाल विद्यार्थी संघका पूर्व सभापति पनि हुन् । कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय नेता हुन् । घिमिरे पनि पनि आफैमा बलिया नेताका रुपमा चिनिन्छन् ।

Advertisement

बिहिबार बिराटनगरमा बसेको कोइराला–पौडेल समूहको बैठकले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको थियो । प्रदेश चुनावअन्तर्गत शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको जनाएको छ । प्रदेश १ को अधिवेशन शनिबार विराटनगरमा हुदैछ ।

१४ जिल्लाबाट प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद प्रदेश अधिवेशनका मतदाता हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया