शुक्रबार, वैशाख ७, २०८१

अझै गति लिएन छांगरु–तिंकर जोड्ने घोरेटो निर्माणले

मेरोन्यूज २०७८ मंसिर १७ गते १२:३७
फाइल फोटो

दार्चुला । व्याँस गाउँपालिकाको छांगरु तिंकर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन ।

नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छांगरु, तिंकर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ । व्याँस–२ दुम्लिङदेखि छांगरुसम्मको ३० किलोमिटर घोरेटो निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन । संघीय सरकारको पाँच करोडमा बोलपत्र आह्वान गरेकामा कूल तीन करोड ३२ लाखमा लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ ।

विसं २०७७ फागुनमा बोलपत्र भई २०७८ वैशाखमा निर्माण कम्पनीसँग घोरेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए । आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छांगरु तिंकर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ । व्याँसी सौका समुदाय छ महिना खलंगा तथा छ महिना छांगरु र तिंकरमा बसाई सर्ने गर्दछन् । हिउँदेयाम सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलंगा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलंगासम्म आउन उनीहरुलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँ ठाउँमा दुःख दिने गरेको बताइएको छ ।

उनले भने, “आफ्नै देशको भूमि जान भारतीय अनुमति लिनुपर्छ । उनीहरुले अनुमति नदिए गाउँ आउजाउ गर्न सकिने अवस्था छैन । योभन्दा हाम्रो लागि अरु विडम्बना के हुनसक्छे ।” छिटो बाटो निर्माणका लागि पत्रकार शंकरसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको ध्यानाकर्षण गराएका छन् । प्रदेश गौरवका योजनाको अनुगमनको लागि दार्चुला पुगेका मन्त्री सोडारीलाई सरकारले व्याँसलाई विशेष क्षेत्रमा राखे पनि नागरिक हिँड्नसमेत बाटो बनाउन नसकेको जनाउँदै पत्रकार धामीले ध्यानाकर्षण गराए । उनले भने, “नेपाली सेनाले साढे ४०० मिटर गोरेटो बाटो बनाइदिएको थियो । ”अहिले त्यही बाटो अवरुद्ध हुँदा पनि मर्मतको काम अघि बढ्न सकेको छैन । यसमा तीन तहको सरकारको ध्यान जानुपर्छ ।

निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई/तीन किलोमिटर घोरेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गरे । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको उनले बताए । वर्षा तथा कोरोना संक्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ ।

तीस किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराईदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु उनले भने ।

घोरेटो निर्माण गर्नुपर्ने ठाउँमा कडा चट्टानी भू–भाग रहेको भन्दै चट्टान तोड्न विष्स्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायी बमले गुनासो गरे । यस्तै भारतले सडक निर्माणका क्रममा कल्जुभन्दा माथिल्लो क्षेत्रमा विष्फोट गराएको ढुंगा नेपालपट्टि आएर बढी क्षति भएको जनाइएको छ । नरेन्द्रसिंह कार्की/रासस

प्रतिक्रिया