शुक्रबार, वैशाख ७, २०८१

अमेरिकासहित विश्वका ३० देशमा ओमिक्रोन पुष्टि

मेरोन्यूज २०७८ मंसिर १७ गते ९:५५

काठमाडौँ । पछिल्लो।पटक अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन कम्तीमा पाँच जनामा देखा परेको छ । अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलका अनुसार एकैदिन पाँच जनामा नयाँ भेरियन्ट देखा परेकोे हो ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको थियो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।

यो भाइरस हप्ता दिनमात्र अघि दक्षिण अफ्रिमा पत्ता लागेको थियो । अहिले यो विश्वका करिब ३० देशमा भेटिइसकेको छ ।

प्रतिक्रिया