शुक्रबार, चैत १६, २०८०

सशस्त्रको एसएसपी बढुवामा चलखेल

मेरोन्यूज २०७८ मंसिर १७ गते ८:५८

काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

लामो समयदेखि रिक्त रहेको एसएसपीमा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईका कारण रोकिएको बढुवा खुलेको छ । एसएसपीमा बढुवा हुने एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर (ख)रहेका छन् । यसअघि २५ पद खाली हुँदा १५ पदका लागि मात्रै एसएसपीमा बढुवा निकालिएको थियो ।

एसपीद्वय उद्धव न्यौपाने र दीपेन्द्र कुँवर (ख)का कारण कामु एसएसपीको बढुवा रोकिएको थियो । न्यौपाने हाल प्रधानमन्त्री कार्यालय तथा यसअघि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको दाजुभाइ हुन् । कुँवर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । न्यौपाने र कुँवर सिंसं २ नम्बरका एसपी हुन् ।

उनीहरुको ब्याचमा कुँवर ११ नम्बरका एसपी हुन् भने न्यौपाने १२ औँ नम्बरका हुन् । आइजीपी शैलेन्द्र खनाललाई र गृहसचिव न्यौपाने र भानु देउवामार्फत दबाब दिएर कामु एसएसपी बनाउनबाट रोक्दा १० वरिष्ठ एसपीको वृत्ति विकासमा असर परेको थियो । अहिले कुँवर बढुवामा पर्ने भएपछि मात्रै बढुवामा सिफरिस गरिएको छ । सशस्त्रमा कामु एसपी बनाउँदा वरिष्ठता मिच्न पाइँदैन ।

कामु एसएसपी बनाएमा आफूहरु छुट्ने र पछिल्लो ब्याचमा पर्ने भएकाले नियमित बढुवामा अघिल्लो नम्बरमा पर्ने र भावी नेतृत्वमा पुग्ने दाउमा कुँवर र न्यौपाने लागेका थिए । तर न्यौपाने भने परेनन् । उनीहरुको स्वार्थका लागि १० पद खाली हुने अवस्था हुँदाहुँदै दबाबमा विगत एक वर्षदेखि बढुवा रोकिएको थियो । कुँवरले भानु देउवाकै सोर्सकै आधारमा आर्मीको स्टाफ कलेजमा तालिम गरेका छन् ।

Advertisement

नेपाल प्रहरीको असईबाट आएका डीएसपीहरुमध्ये अधिकांशको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार सशस्त्रमा ११ जनाभन्दा बढीले बढुवाका लागि भारतका उत्तर प्रदेश र बिहारका शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा उत्तर प्रदेश र बिहारका विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्रहरु नक्कली साबित भएपछि उनीहरु अहिलेलाई रोकिएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीका डीएसपीहरुले आईए र बीएका प्रमाणपत्र भारतबाट ल्याएर पेश गरेका छन् । एसपी बढुवाका आकांक्षी चार डीएसपी प्राविधिकबाट इन्फेन्ट्रीतर्फ आएका हुन् । नेपाल प्रहरीबाट असईमा प्राविधिकमा भर्ना भएका र पछि चलखेल गरी इन्फेन्ट्रीमा आएका पनि अहिले एसपीका दाबेदार छन् ।

सशस्त्रमा प्रतिस्पर्धाबाट आएकालाई बढुवा गरी संगठनलाई योग्य र क्षमतावान जनशक्ति सम्पन्न बनाउनु पर्नेमा शंकास्पद प्रमाणपत्र भएका र प्राविधिकहरुलाई ल्याएर अयोग्यहरुको भीड बनाइएको छ ।

प्रतिक्रिया