बुधबार, वैशाख १२, २०८१

आयल निगम दैनिक साढे ७ करोड घाटा खाएर चल्न सक्दैन : निर्देशक पौडेल

मेरोन्यूज २०७८ मंसिर १७ गते ७:२६

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयभन्दा आयल निगम रहने की नरहने भन्ने विषय प्रमुख रहेको बताएका छन् । बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा उनले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिरहेको बताउँदै यस्तो बताएका हुन् ।

निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु पर्ने अवस्था श्रृजना गर्न नहुने बताए । उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिरहेको जानकारी दिए । यस्तो अवस्था निगमले काम गरिरहँदा निगमलाई नै विवादित बनाउनु राम्रो नभएको बताए । उनले निगममा सबैभन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताए । एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ ।

‘निगमले संधै घाटामा रहेर काम गर्दा निगम रहने की न रहने अवस्था आउन सक्छ, निगम घाटामा गएर नै मूल्य वृद्धि गर्नु परेको हो, दैनिक ७ करोड घाटामा काम गरेको छ, अझ एलपी ग्यासमा सबैभन्दा धेरै रहेको छ,’ उनले भने, ‘दैनिक एक लाख सिलिण्डर मुलुकभर खपत हुँदा एउटा सिलिण्डरमा निगमले ७५० रुपैयाँ र सरकारको २५० रुपैयाँ घाटा खाइरहेको छ, यस्तो अवस्थाले निगम त के हुन्छ थाहा छैन, तर सरकार चल्न सक्छ ? यो विषयमा सरकारले सोच्नु पर्छ ।’

पछिल्लो समय अझ बढी इन्धनको मूल्य वृद्धिको विषयमा राजनीति भएको छ । पछिल्लो समय सत्तारुढ दलका विद्यार्थी संगठनले समेत आगो लगाउने कुरा गरेका छन् । यस्तो अवस्थामा निगमले काम गर्न असहज भएको उनले बताए ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए । उनले इन्धनमा विश्वका धेरै देशमा कर महँगो नै भएको बताउँदै मुलुकको इन्धन आवश्यकता कति हो ? त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया