शुक्रबार, चैत १६, २०८०

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दो

मेरोन्यूज २०७८ मंसिर १७ गते ७:०७

काठमाडौँ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आउन थालेको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।

धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए । बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुँदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।

सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक श्रेष्ठले जानकारी दिए ।

यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एण्ड टुरले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पॉच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताए । काठमाडौँबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर, हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । “हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्यांक राख्ने गरेका छौँ, हेलिकोप्टरबाट आउनेको छैन”, काफ्लेले भने ।

Advertisement

दसैँको नौरथा सुरु भएको असोज २१ देखि मंसिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक समितिसँग छ ।

पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालु आव २०७८ को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया