शुक्रबार, वैशाख १४, २०८१

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा

नारायण शर्मा २०७८ मंसिर १६ गते १३:०९

अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरीब तथा पिछडिएका राष्ट्रहरुबीचको अन्तर्विरोध हो भन्ने मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुले राष्ट्रिय अन्तरविरोध कुन-कुन शक्तिका बीच छ भन्नु ठिक होला ? अथवा यसो भनौं : अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको एकछत्र जस्तै हुकुम-हैकम र हस्तक्षेप सामान्यतया नेपालजस्ता तेस्रो विश्वका सबैजसो मुलुकहरुमा भैरहेकोले स्वतस् स्वाभाविक र अनिवार्य रुपले प्रधान राष्ट्रिय अन्तर्विरोध पनि साम्राज्यवादसँग नै छ वा हुनुपर्छ भन्ने देखिन्छ ।


विश्वमा साम्राज्यवादका विविध स्वरुपहरु छन् । ती मध्ये विस्तारवाद पनि एक हो । दक्षिण एसियामा त्यसमध्ये पनि हाम्रो देश नेपालमा भारतीय विस्तारवादको शोषण-दमन र हस्तक्षेप विगत लामो समयदेखि रहँदै आएको छ । अझ यो परम्परागत हस्तक्षेप दिनप्रतिदिन बढ्दै पछिल्लो चरणमा बहुआयामिक रुपमा पेचिलो र कसिलो पनि हुँदै आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि सुरु भएको बिट्रिश भारतीय अतिक्रमण र औपनिवेशिकरणको यो प्रक्रिया आजको मुक्ती, स्वाधीनता र स्वतन्त्रताको आधुनिक युगसम्म आइपुग्दा त झन् भौगोलिक, राजनीतिक, आर्थिक, भाषिक, धार्मिक, सांस्कृतिक, जनसांख्यिक र सामरिक रुपका विविधहस्तक्षेपका आयामहरु मार्फत बरकरार रहेको मात्र होइन, झन् झन् हाकाहाकी, तीव्र, पेचिलो, कसिलो, जटिल र गम्भीर रुपमा बढिरहेको छ । फलस्वरुप राणाकालमा सुरु भएको बिट्रिस साम्राज्यवादप्रतिको नेपाली शासकवर्गले गर्दै आएको भक्ती, दलाली, चाकरी र वफादारीको प्रकृया पनि आजसम्म आउँदा त प्रभुकरण र आत्मसमर्पणको स्वरुपमा विकसित भएको छ ।


आज देशमा २००७, २०२८, २०३६, २०४६, २०५२ र२०६२/६३का भीषण र भयावह आन्दोलनहरु हुँदा र देसभक्त क्रान्तिकारीहरुका त्याग, तपस्या र बलिदानका उच्चतम कीर्तिमान कायम हुँदासम्म समेत देशको अस्मिता, अस्तित्व, स्वत्व, स्वाधीनता र स्वाभिमान सुरक्षित हुन सकेको छैन । र, नेपाललाई प्राथमिकता क्रमअनुसार क्रमश: सिक्किमीकरण, भुटानीकरण, फिजीकरण वा कम्तिमा खण्डीकरण गरेर यसको नामो निसान मेटाउने जालझेल र चलखेलहरु भैरहेका छन् । विचित्रको विडम्बना त यो भएको छ कि यसप्रक्रियामा नेपाली नेता-शासकहरु नै वैदेसिक शक्तिकेन्द्रहरुको दलाली र दासता निर्बाध र निर्भीकतापूर्वक नाङ्गै, खुल्लै र सीधै गरिरहेका छन् । यसले गर्दा देशको अस्तित्व झन् पछि झन् गम्भीर संकटमा परेको छ ।


आजसम्म स्वतन्त्रता र समानताको लागि नेपालमा भएका उपरोक्त आन्दोलनहरुबाट यसदिशामा राज्यव्यवस्थामा भए(गरेका परिवर्तन र परिमार्जन पछाडि पनि विभिन्न व्यवस्था अन्तर्गत देसका विभिन्न शक्तिहरुले शासन गरिरहेका छन् । जहानियाँ हुकुमी राणाशासन र यसअन्तर्गत राणाहरुले, निर्दलीय निरंकुश पंचायत शासन र यसअन्तर्गत राजा र पंचहरुले, पुँजीवादी संसदीय शासन र यस अन्तर्गतका काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा, मधेसवादी आदि शक्तिहरुले लामो समयसम्म पनि एकल वा संयुक्त रुपमा पटकपटक सरकार संचालन गरेका छन् । यसक्रममा राज्यको लोकतान्त्रीकरण गर्ने र आधुनिक राज्यका विशेषताहरु अवलम्बन गर्ने अर्थात् गणतन्त्र, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज, आवधिक निर्वाचन, मौलिक हक, अनि उपेक्षित र बहिष्कृतहरुको समेत राज्यसत्तामा सहभागिता आदि जस्ता कुराहरुको थोरबहुत प्राप्ति त भएको छ तर यो उपलब्धि सँगसँगै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डता भने दिनानुदिन चरम खतरामा परिरहेको छ ।

आज कालापानी, सुस्ता लगायतका ६ दर्जनजती स्थानहरुमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमिमा भारतीय विस्तारवादीहरुबाट भैरहेको सीमाक्षेत्रमा अतिक्रमणलगायतका माइक्रो म्यानेजमेन्टसम्मका कामकुराहरुमा हुँदै आइरहेका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र सामरिकसम्मका हस्तक्षेपले के कुराको पुष्टि गर्छन् ? स्पष्ट छ कि हाम्रो देस आजको युगमा पनि समयानुकुल स्वतन्त्र र सार्वभौम छैन १ यो अद्यापि अर्ध वा नव उपनिवेशको अवस्थामा छ ।

तसर्थ देसलाई पूर्ण र सच्चा स्वाधीन राष्ट्र बनाउनु हामी नेपालीहरुको यतिबेलाको पहिलो र प्रमुख जिम्मेवारी हो । यसनिम्ति हामीले राष्ट्रिय स्वाधीनताको लडाइ लड्नुपर्ने हुन्छ । त्यो भनेको हाम्रो प्रधान अन्तर्विरोध वैदेशिक प्रतिकृयावादसँग अर्थात् इन्डोपश्चिमा साम्राज्यवादसँग रहेको छ भनेको हो । यो भनेको यो वैदेशिक शक्ति अर्थात् इण्डोपश्चिमा साम्राज्यवादी शक्तिहरु नै नेपाल, नेपाली र नेपाली क्रान्ती, मुक्ति र प्रगतिका मुख्य दुश्मन शक्ति हुन् भनेको हो ।

यो अवस्थामा प्रथमतः देसको स्वत्व र अस्तित्व रक्षाको लडाइलाई सबल र सफल पार्न र द्वितीयत जनवादी र समाजवादी क्रान्तिमा अघि बढ्न आज सम्पूर्ण देसभक्त शक्तिहरु गोलबन्द गर्नु-हुनुपर्दछ र हाम्रो मोर्चाको निसाना वैदेशिक प्रतिक्रियावादी विशेषत: भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादलगायतका नेपालमाथी विविध प्रकारले हस्तक्षेप गरिरहेका साम्राज्यवादी शक्तिहरु र तिनका नेपाली अनुहारका दलाल र दासहरुलाई बनाउनुपर्छ । यसरी मात्र राष्ट्रिय मुक्ती आन्दोलनलाई विजयसम्म पुराउन सकिन्छ र सक्नु नै पर्दछ । राष्ट्रिय मुक्ती पूर्ण रुपले प्राप्त भैसकेपछि मात्र जनतन्त्र र जनजीविकाका अपूरा मुद्दाहरुलाई पूरा गर्न संघर्ष गरेर नयाँ जनवादी क्रान्तिका दुई मुख्य कार्यभार वर्गीय मुक्ती र राष्ट्रिय मुक्तीलाई पूर्णता दिई समाजवादको दिशामा अघि बढ्नु पर्दछ ।

साँच्चै भन्ने हो भने आज नेपालमा वर्गीय मुक्तिको दिशामा केही प्रगती र उपलब्धीहरु भएपनी राष्ट्रिय स्वाधीनता र मुक्तिको दिशामा केही प्रगती र उपलब्धी भएको छैन, बरु उल्टै राष्ट्र नै कोल्याप्स हुने गम्भीर खतरा छ । पछिल्लो चरणमा MCC मार्फत भारत र अमेरिकाको संयुक्त पहलमा पश्चिमा साम्राज्यवादीलगायतका साम्राज्यवादी शक्तिराष्ट्रहरुले नेपालमा गर्न थालेको सुनियोजित हस्तक्षेप, हैकम र हालीमुहालीले नेपालको अस्तित्व पूर्ण र सर्वाधिक रुपले खतरामा परेको छ । साथै चीन, उत्तर कोरिया लगायतका साम्राज्यवादविरोधी देशहरुको समेत हैसियत र अस्तित्व खतरामा परेको छ । यतिमात्र होइन यसले गर्दा क्षेत्रीय शान्ती र अन्ततः विश्वशान्तिलाई समेत खतरामा परेको छ । त्यसैले नेपालभित्रका सच्चा देसभक्त र क्रान्ती-शान्तिका पक्षपातीहरुको मात्र होइन, देसबाहिरका साम्राज्यवाद र त्यस्को युद्धका विरोधी सम्पूर्ण शक्ति, राष्ट्र र जनसमुदायहरुको समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत बृहद संयुक्त मोर्चा निर्माण गरी राष्ट्रिय स्वाधीनताको लडाइ लडेर राष्ट्रिय मुक्ति आन्दोलनलाई विजयी बनाई स्वाधीनता, शान्ति, समृद्धि र समानताको दिशामा अघि बढ्नु पर्दछ ।

वास्तवमा नयाँ जनवादी क्रान्तिका दुई कार्यभारहरुमध्ये अहिले नेपालमा राष्ट्रिय स्वाधीनताको प्राप्तिको लडाइँलाई सबल र सफल पार्न हामीले प्राथमिकता र प्रधानता दिनु जरुरी छ भने तत्पश्चात वर्गीय मुक्ति प्राप्तिको लडाइँलाई सबल र सफल पार्नु पर्दछ । यो नै अत्यावश्यक र सम्भव अनि नेपाली वस्तुगत आधार र मौलिकतामा आधारित सही, बैज्ञानिक, सिर्जनशील र क्रान्तिकारी तरिका हो । यसो नगरेर एकै पटक नयाँ जनवादी क्रान्तिका दुवै कार्यभार पूरा गर्ने भन्ने सोंच र तरिका यान्तृक, अवस्तुवादी र असम्भव सोंच र तरिका हो । यसैगरी नयाँजनवादी क्रान्तिका बाँकी २० प्रतिशत कार्यभार पूरा गर्दै समाजवादमा जाने वा अहिले नै समाजवादी क्रान्ति गर्ने कुरा पनि त्यत्तिकै अवस्तुवादी, अबैज्ञानिक, असम्भव र मनोगत आत्मरति भन्दा अरु बढी केही हुने देखिन्न ।

तसर्थ राष्ट्रिय मुक्ती आन्दोलनको यो कार्यदिशाले मात्र अहिलेको विश्वको प्रधान अन्तर्विरोधसँग पूर्ण संगती राख्दछ । यसरी मात्रै राष्ट्रिय क्रान्ती हुँदै अन्तर्राष्ट्रिय क्रान्तितर्फ अघि बढ्न अर्थात् विश्वभरका उत्पीडित राष्ट्रहरु मिलेर विश्वसाम्राज्यवादका विरुद्ध लडेर विजय र मुक्ती पाउन सकिन्छ भन्ने लाग्दछ । यसदिशातिर स्वतन्त्र, गम्भीर र जिम्मेवार भएर सोंच्न, विचार गर्न अनि आआफ्ना पार्टी र समूहभित्र आवश्यक छलफल चलाउन र यसप्रकारको सही नीति, निर्णय र कार्यदिशामा अघि बढ्न सम्पूर्ण अग्रज-दिग्गज, ठुला-बडा र सच्चा-पक्का देसभक्त-क्रान्तिकारी शक्ति-व्यक्ति र नेतृत्व-व्यक्तित्वहरु लगायत सबै बुद्धिजीवी-विश्लेषक र क्रान्तिका किल्ला र इतिहासका निर्माता सचेत जनसमुदायहरुलाई समेत विनम्र अनुरोध गर्नु वान्छनीय भएको छ ।

प्रतिक्रिया