बुधबार, वैशाख १२, २०८१

कांग्रेसको १४ औं महाधिवेशन

सुदूरपश्चिममा सबैतिर संस्थापनको वर्चश्व

प्रदेशमा जिल्ला सभापति, प्रतिनिधि सभाको क्षेत्रको सभापति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा सभापति र प्रदेश प्रतिनिधिमध्य कुनै कल्स्टरमा पनि संस्थापन इतरको बहुमत छैन् । अल्पमतमा पनि संख्या झिनो मात्रै देखिन्छ ।

मेरोन्यूज २०७८ मंसिर १६ गते १२:२०

काठमाडौँ । १४ औं महाधिवेशनको सानिध्यमा रहेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा सबैतिर बर्चश्व जमाएका छन् । पार्टीका जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय सभापति र प्रदेश प्रतिनिधिमा देउवा नेतृत्वको संस्थापनको बर्चश्व देखिन्छ ।


हामीले यो प्रदेशको तथ्यांक केलाउँदा कुनै पनि सेक्टरमा संस्थापन इतरको बर्चश्व देखिन्न । संस्थापनकै दबदबा देखिन्छ । तर संस्थापन इतर समूहको नेतृत्व गरेका नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा भने संस्थापनले इतर समूहलाई सबैतिर बर्चश्व कायम राख्न दिएको थिएन ।
नौ जिल्ला रहेको सुदूरपपिश्चम प्रदेशमा अहिलेसम्म ७ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । त्यसमा चार जिल्लामा संस्थापन पक्षका नेताले जिल्ला सभापति जितेका छन् ।

कञ्चनपुर, डडेलधुरा डोटी र बझाङमा संस्थापन पक्षका नेताले सभापति जितेका हुन् । संस्थापन इतर समूहले बाजुरा, दार्चुला र बैतडीमा जिल्ला सभापति जितेको छ । अछाम र कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छैन ।


सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाका १६ क्षेत्र छन् । त्यसमा संस्थापनले ११ क्षेत्रमा सभापति जितेको छ । भने संस्थापन इतर समूहले ५ सभापतिमा मात्रै चित्त बुझाएको छ । संस्थापन इतर समूहले एक-एक निर्वाचन क्षेत्र भएका जिल्ला बाजुरा, दार्चुला र बैतडी तथा कञ्चनपुर १ र अछाम १ क्षेत्रमा सभापति जितेको छ । बाँकी सबै स्थानमा संस्थापनले बाजी मारेको छ ।


सुदूरपश्चिम प्रदेशबाट ४१४ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्य २८० महाधिवेशन प्रतिनिधि संस्थापन पक्षका छन् । १३४ महाधिवेशन प्रतिनिधि संस्थापन इतर समूहमा देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा क्षेत्रीय समिति ३२ वटा छन् । त्यसमा २७ क्षेत्रका सभापति संस्थापन पक्षका नेताले जितेका छन् । भने संस्थापन इतर समूहले ५ क्षेत्रमा मात्रै सभापति जितेको छ ।


प्रदेश प्रतिनिधिमा पनि अवस्था त्यस्तै छ । सुदूरपश्चिममा ५७० प्रदेश प्रतिनिधि चुनिएका छन् । त्यसमा संस्थापन पक्षका ३९० प्रतिनिधि रहेका छन् । संस्थापन इतर समूहमा १८० प्रतिनिधिमात्रै देखिएका छन् । यसले पार्टीको प्रदेश नेतृत्व सिधै संस्थापन पक्षको पोल्टामा जाने निश्चित देखिन्छ । तर, यहाँ भने भोलि नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनय गर्नु पर्ने भए पनि कुनै समूहले आधिकारिक उम्मेदवार तय गर्न सकेका छैनन् । नेताहरुले आफूखुसी रुपमा भने उम्मेद्वारी घोषणा गरेका छन् ।

यो पनि ….

गण्डकीमा कुन पक्षको कस्तो छ अवस्था ?

प्रतिक्रिया