बिहीबार, वैशाख १३, २०८१

राप्रपा महाधिवेशन

कमल थापा भर्सेस राजेन्द्र लिङ्देन, को कति बलियो ?

रेखा थापा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दै

मेरोन्यूज २०७८ मंसिर १५ गते २०:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट शुरु भएको एकता महाधिवेशनबाट नयाँ नेतृत्व हात पार्न वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन मैदानमा खडा भएका छन् ।

पछिल्लो पटक २०७६ फाल्गुन २८ गते कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त)बीच एकीकरण भएको थियो ।

पार्टी एकीकरणपछि तीन जनाको अध्यक्षतामा सामूहिक नेतृत्व गर्दै अहिले राप्रपाले एकता महाधिवेशन गर्न लागेको हो । एकता महाधिवेशन हुँदै गर्दा थापालाई जबरा र लोहनी चुनौती बन्ने आंकलन भइरहेकाबेला विगतमा उनै थापाका सानो कार्यकर्ता मानिने झापाका राजेन्द्र लिङ्देन नै भारी भएका छन् ।

राप्रपा महामन्त्री लिङ्देनले २०७४ सालको निर्वाचनमा झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मत अन्तरले पराजित गरेका थिए । जतिबेला लिङदेनले बाम गठबन्धनको समर्थन पाएका थिए ।

पञ्चायतकालदेखि नै मन्त्री भएका कमल थापा बहुदलीय ब्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा गृहमन्त्रीदेखि उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २०६० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेदेखि नै पार्टीको नेतृत्वमा छन् ।

कमल थापाकै दोस्रो पुस्ताका नेता थापाविरुद्ध प्रतिष्पर्धामा उत्रिएपछि उनलाई दोस्रो पुस्ताका युवा नेता कार्यकर्ताले मात्र होइन, प्रकाशचन्द्र लोहनीदेखि पशुपतिशम्शेर जबरा पक्षधर पुराना नेता कार्यकर्ताले साथ दिएका छन् ।

लिङदेनलाई प्रकाशचन्द्र लोहनीसहित पूर्व उपाध्यक्ष ढंक ढकाल, दिलविकास राजभण्डारी, तारानाथ लुइँटेल, पूर्वमहामन्त्री भइसकेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, पूर्वमन्त्री रामकुमार सुब्बा, जगत गौचन, दुर्गा श्रेष्ठ, रामचन्द्र राय, काठमाडौं महानगरका पूर्वमेयर राजाराम श्रेष्ठ लगायतले समर्थन जनाएका छन् ।

धवलशम्शेर राणाले लिङ्देनकै प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिने तयारी गरेका छन् भने चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि लिङ्देनलाई समर्थन जनाउँदै उनकै पक्षबाट उम्मेदवारी दिने तयारी गरेकी छन् ।

लोहनीले आफ्ना पक्षका नेता कार्यकर्तालाई लिङदेनका पक्षमा मत दिन सार्वजनिक अपिल नै गरिसकेका छन् भने पशुपतिशमशेर राणाले पनि लिङदेनलाई सघाउने देखिएको छ । राणा पक्षका नेता कार्यकर्ताले लिङदेनलाई समर्थन जनाइसकेका छन् ।

महाधिवेशन अघि भएको प्रदेश अधिवेशनबाट निर्वाचित अधिकांश प्रदेश सभापति पनि लिङ्देनका पक्षका छन् । प्रदेश १ मा कमल थापा पक्षका राम थापा विजयी हुँदा प्रदेश २ मा लिङ्देन पक्षका भरत गिरी सर्वसम्मत भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा लिङ्देन पक्षकै हेमजंग गुरुङ् चुनावबाट निर्वाचित हुँदा सुदूरपश्चिममा पनि लिङ्देन पक्षका धर्मराज जोशी सर्वसम्मत भए ।
लुम्बिनी प्रदेशमा निर्वाचित प्रदीप उदय दीपक बोहरानिकटका हुन् भने कर्णाली प्रदेशमा सर्वसम्मत सभापति चुनिएका दीपबहादुर शाही पशुपतिशम्शेर जबरानिकटका हुन् ।

नेपालको राजनीतिका हस्ती नै कुनै बेलाका नेपाली खेल क्षेत्रका चर्चित कुटनीतिक मामिलामासमेत पोख्त मानिने कमल थापालाई पूर्वमन्त्री दीपक बोहरा, बुद्धिमान तामाङ, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, फत्तेसिंह थारू, प्रेमबहादुर भण्डारी लगायतले समर्थन जनाएका छन् ।

संविधानसभा निर्वाचनमा चौथो दल बन्न सफल भएका कमल थापाले पछिल्लो निर्वाचनमा पराजय ब्यहोरेपछि राजावादीहरुको साख जोगाउन गरिएको एकता पनि थापाकै कारण तुहिएको थियो ।

प्रजातान्त्रिक शक्ति इतरका पार्टीहरुमध्ये मजबुत मानिएका थापाका सामुन्ने ‘फुच्चे’ मानिएका लिङदेन एमालेका भीम रावल सिद्धिने राजनीतिवृत्तमा थियो । तर एकाएक युवापंक्तिका साथै लोहनी र राणा क्याम्पबाट साथ मिलेपछि थापाका लागि नयाँ नेतृत्व हात पार्नु फलामको चिउरा सरह बनेको छ ।

बुधबारबाट शुरु भएको राप्रपाको एकता महाधिवेशनले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता निर्वाचित गर्नेछ भने १४९ जनाको केन्द्रीय समिति बन्नेछ । ५० जना केन्द्रीय सदस्य भने अध्यक्षले पछि थप गर्न पाउने ब्यवस्था राप्रपाको विधानले गरेको छ ।

प्रतिक्रिया