सोमबार, जेठ ७, २०८१

विश्व एड्स दिवस

साढे ९ हजार एचआईभी संक्रमित उपचारको पहुँचभन्दा बाहिर

सरकार भन्छ - थाहा छैन

सञ्जिता खनाल २०७८ मंसिर १५ गते ९:४३

काठमाडौँ । नेपालमा २० हजार ८८३ एचआइभी संक्रमितहरु रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवन कुमार साहले अहिले कुल संक्रमित मध्ये ६९ प्रतिशत अर्थात ११ हजार ४४६ मात्रले एन्टिरेट्रोभाइरल (एआरभ) उपचार सेवा लिइरहेको बताए ।

Advertisement

यी संक्रमित मध्ये अझै पनि ३१ प्रतिशत अर्थात ९ हजार ४१७ जना संक्रमित भने एन्टिरेट्रोभाइरल (एआरभ) उपचार सेवाभन्दा बाहिर रहेको केन्द्रको तथ्यांकले देखाएको छ । डा. साहका अनुसार अझै पनि ३१ प्रतिशत संक्रमित हराएका छन् । उनले विश्वको तथ्यांकमा सन् २०१० भन्दा सन् २०२० मा नयाँ संक्रमितको संख्या घटेको बताए ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहरुमा सुईद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि बिदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् । यस्ता ५ प्रतिशतभन्दा बढीमा एचआईभी संक्रमण रहेको साहले जानकारी दिए ।

‘सन् २०२० को अन्तसम्म संसारमा ३ करोड ७७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ,’ डा साहले भने , ‘सन् २०२० मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ सन् २०१० मा २१ लाख नयाँ संक्रमण थियो ।’

सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा जुन ५३ प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

केन्द्रकी निर्देशक डा सुधा देवकोटाले अझै पनि करिब १० हजार एचआइभी संक्रमित उपचार सेवा लिनबाट बञ्चित रहेका बताइन् । अहिले लुकेर बसेको समुहलाई समाजमा हुने भेदभाव हटाउँन सकेमा उपचारको पहुँचमा आउने उनको भनाइ छ । सरकारले बर्सेनि ५६ करोड रुपैयाँ बजेट छुट्ट्याएर एचआईभी एड्स उन्मूलनका लागि काम गरिरहेको केन्द्रले जनाएको छ । सरकारले सन् दिगो िवकास लक्ष्य सन् २०३० सम्ममा एचआईभी एड्सको महामारीलाई अन्त्य गर्ने र शून्य पुर्याउने जनाएको छ ।

राष्ट्रिय एचआइभी महासंघका राजेश जिद्यीका अनुसार एचाइभीका बिरामीलाई कोरोना महामारीको समयमा पनि नियमति औषधि घर घरमा पुर्याएको बताए । हाल ६१ जिल्लामा एआरटी सेवा सञ्चालन भएको केन्द्रले जनाएको छ । आज विश्वएड्स दिवस देशैभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइदैछ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया