बिहीबार, वैशाख १३, २०८१

कांग्रेस महाधिवेशन

गण्डकीमा कुन पक्षको कस्तो छ अवस्था ?

जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, केन्द्रका महाहिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय सभापति र प्रदेश महाधिवेशन प्रतिनिधिबारे तथ्यांकगत विश्लेषण

मेरोन्यूज २०७८ मंसिर १५ गते ८:२६

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ६० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । त्यसमध्य गण्डकी प्रदेशमा प्रदेश अधिवेशनभन्दा तलका सबै अधिवेशन सम्पन्न भएका छन् । हामीले गण्डकी प्रदेशमा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा प्रदेशमा भएका प्रदेश सभा क्षेत्रका सभापति र प्रदेश महाधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय सभापति र केन्द्रका महाधिवेशन प्रतिनिधि तथा जिल्ला सभापति को कता ? भनेर केलाउने प्रयास गरेका छौँ ।

हामीले ५ विषयको आकलन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन र बाँकी सबैलाई अर्कोतिर राखेर को बलियो भन्ने छुट्टयाउने प्रयास गरेका छौँ ।
११ जिल्ला रहेको प्रदेशमा ४ जिल्ला सभापति संस्थापन इतर पक्षले जितेको छ भने ७ जिल्ला सभापति संस्थापनले जितेको छ । संस्थापन इतर पक्षले नवलपरासी पूर्व, मुस्ताङ, गोरखा र स्याङ्जा जिल्लामा सभापति जितेको छ । संस्थापनले कास्की, तनहुँ, जमजुङ, मनाङ, बागलुङ, पर्वत र म्याग्दीमा जिल्ला सभापति जितेको छ ।

त्यस्तै १८ प्रतिनिधि सभाका निर्वाचन क्षेत्र रहेको गण्डकीमा संस्थापनले निर्वाचन क्षेत्रीय सभापति ६ स्थानमा मात्रै जितेको छ भने संस्थापन इतर पक्षले १२ स्थानमा निर्वाचन क्षेत्रीय सभापति जितेको छ । त्यहाँ संस्थापन इतरमा रहेका नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका निर्वाचन क्षेत्र पर्छ । तर पनि जिल्ला सभापतिमा संस्थापन पक्षले बाजी मारेको तथ्यांकमा हेर्दा देखिन्छ । संस्थापनले कास्की क्षेत्र नं ३, तनहुँ क्षेत्र नं २, स्याङ्जा क्षेत्र नं २, गोरखा क्षेत्र नं २, मनाङ र नवलपरासी पूर्व २ मा मात्रै क्षेत्रीय सभापति जितेको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि कसका कति आए भन्ने अवस्थाबाट हेर्दा जम्मा ४६७ महाधिवेशन प्रतिनिधिमा संस्थापनका १८९ महाधिवेशन प्रतिनिधि आएका देखिन्छ । त्यहाँ नेता कृष्णप्रसाद सिटौलातिर खुलेका ४ र महामन्त्री डा. कोइरालातिर खुलेका १३ महाधिवेशन प्रतिनिधि आएका छन् । कसैतिर नखुलेका १२ महाधिवेशन प्रतिनिधि आएका छन् । संस्थापन इतर समूह एकीकृत भएमा २४९ महाधिवेशन प्रतिनिधि देखिएका छन् ।

त्यस्तै प्रदेश सभा क्षेत्रको तथ्यांक हेर्दा ३६ प्रदेशसभा क्षेत्र रहेको मा १२ सभापति संस्थापन पक्षीय नेताले जितेका छन् । ५ प्रदेश सभा क्षेत्रीय सभापति कतैतिर नखुलेका नेताले जितेका छन् भने १९ क्षेत्रीय सभापति संस्थापन इतरका नेताले जितेका छन् । यो प्रदेशमा ६३० महाधिवेशन प्रतिनिधि हुन्छन् । त्यसमध्य संस्थापनका २६३ जना देखिएका छन् । ५० प्रदेश अधिवेशन प्रतिनिधि तटस्थ देखिएका छन् । महामन्त्री डा. कोइराला तिर खुलेका २३ जना र संस्थापन इतर पक्षमा २८६ जना देखिएका छन् ।

यसले संस्थापन इतर समूह एकजुट नभएमा इतर समूहको पकड रहेको क्षेत्र भनिएको गण्डकीमा पनि संस्थापनकै कब्जा जम्ने देखिन्छ, प्रदेश समितिमा । प्रदेश समितिमा सस्थापनबाट केन्द्रीय सदस्य अर्जुन जोशीले सभापतिमा उम्मेदवारी दिएका छन् । उनको संस्थापनबाट एकल उम्मेदवारी हो । तर संस्थापन इतर समूहबाट भने आर्धा दर्जन बढी आकाक्षी देखिएपछि यो हो उम्मेदवार भन्न सकिएको अवस्था देखिन्न ।

प्रतिक्रिया