शुक्रबार, चैत १६, २०८०

कांग्रेसको केन्द्रीय सदस्यमा गंगा सुनारले उम्मेदवारी दिने

मेरोन्यूज २०७८ मंसिर १४ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौंकी नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । बुढानिलकण्ठ नगरपालिका–७ की ३७ वर्षे सुनार दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नं. ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् ।

‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’ सुनार हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् ।

‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्ने छ । मेरो उम्मेदवारी त्यसैका लागि हो । उनले भनिन् ।’ वि.स.२०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी थिइन् ।

उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताइन् । उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रमहरू गरेको बताइन् ।

Advertisement

प्रतिक्रिया