मंगलबार, चैत ६, २०८०

सवारी साधनमा ‘ह्वील लक’, अब हुनेछ ‘सरप्राइज चेकिंग’

मेरोन्यूज २०७८ मंसिर १३ गते १८:०४

कैलाली । धनगगढीमा सवारी चाप बढेसंगै अस्तव्यस्त बनेको ट्राफिक समस्या समाधानका लागि ट्राफिक प्रहरीले कडाई सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘नो पार्किङ’ क्षेत्रभित्र गाडी पार्क गरेमा ‘ह्विल लक’ गर्न सुरु गरेको हो ।

धनगढी उप–महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारी साधनमा ‘ह्वील लक’ लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनले सोमबार धनगढी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्रमा आकस्मिक चेक जाँच गरिएको र अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ‘ह्विल लक’ गरिएको जानकारी दिए । सवारी चाप बढी हुने हस्पिटल लाइनदेखि एलएन चौक क्षेत्र, ट्राफिक चौराहादेखि बसपार्क क्षेत्रको जाम घटाउन ट्राफिक चेकजाँचमा कडाई गरिने प्रहरी निरीक्षक सिंहले बताए ।

उनका अनुसार ह्विल लक गरिएको गाडीमा सवारी धनीको जानकारीको लागि सवारीमा कारणसहित स्टिकर टाँस गरिनेछ । सवारी धनी सोही स्थानमा भेटिएमा ठाउँको ठाउँ कारबाही गरेर जरिवाना र सम्झाई बुझाई गरिनेछ ।यदि सवारी धनी सोही ठाउँमा नभेटिएमा टाँसिएको सूचना अनुसार कार्यालयमा आउनेछन् र कारबाहीको भागिदार बन्नेछन् । यसैगरि ट्राफिक प्रहरीले साँझ ५ बजेदेखि ७ बजेसम्म ‘सरप्राईज’ मापसे चेकिङ पनि गरिने जनाएको छ ।

प्रतिक्रिया