बिहीबार, वैशाख ६, २०८१

कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुँदै

मेरोन्यूज २०७८ मंसिर १३ गते १२:०४

कैलाली । कैलालीमा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीले दुई चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागेको हो ।

मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटागरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिने उनले बताए ।

तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट निरन्तर मतदाता नामावली भइरहेको उनको भनाइ छ । १७ गतेदेखि प्रदेश निर्वाचन कार्यालयबाट अन्य जिल्लाको मतदाता नामावालीमा नाम दर्ता गर्न चाहानेलाई पनि कार्यालयबाटै नामावली दर्ता गरिने उनले बताए ।

पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली हुने भएको छ । त्यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा हुने छ ।

धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए । घोडाघोडी नगरपालिकाको इलाका प्रशासन कार्यालय सुखड र टिकापुर नगरपालिकाको इलाका प्रशासन कार्यालय टीकापुरबाटै मतदाता नामावली संकलन भइरहेको उनको भनाइ छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आवश्यक रहेको बताए । प्रदेश निर्वाचन कार्यालय कैलालीले सोमबार मतदाता नामावली सकंलन सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया