बिहीबार, चैत १५, २०८०

बडुवाल हत्यामा संलग्न थप २ जना पक्राउ

मेरोन्यूज २०७८ मंसिर १३ गते १०:५३

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा आरोपितलाई भाग्न सघाउने थप दुई जना पक्राउ परेका छन् । कैलालीको बौनीया र बर्दियाबाट दुई जनालाई पक्राउ गरिएको हो ।

आरोपितलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षकविश्व अधिकारीले बताए । उनीहरुलाई सहयोग गरेको अभियोगमा धनगढीका विश्वास शाहलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।

उनी नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन् । शाहलाई सोमबार तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘सविनजंग र लोकेन्द्रले हत्याका आरोपितलाई गाडी खोजेर भाग्न सहयोग गरेको खुलेको छ,’अधिकारीले भने, ‘ती दुवै जनालाई मतियार बनाएर मुद्दाअगाडि बढाइएको छ । विश्वासलाई भने सोधपुछका लागि ल्याइएको हो । उनी घटनामा संलग्न भने देखिएका छैनन् । तर घटनापछि सविनजंगसँग उनको कुराकानी भएको छ।’

घटनाका योजनाकार भनिएका नविन रावललगायतका केही आरोपित अझै फरार छन् । आरोपित ११ जनालाई भने प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया