शुक्रबार, वैशाख १४, २०८१

एमाले अध्यक्षमा ओली र रावल भिड्ने, कुन पदमा कसले दिए उम्मेदवारी ?

मेरोन्यूज २०७८ मंसिर १३ गते १०:४९

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

चितवनको सौराहामा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षको उम्मेदवारी दिएको रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दिएका छन् । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ ।

बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ ।

यसैगरी महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन् । उनीहरु सबैले उम्मेदवारी निर्वाचनका लागि दिइसकेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पुर्‍याएको छ । यसअघि ८ बजेदेखि ९ः३० बजेसम्मको समय तोकिएको थियो । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइने छ । दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए ।

उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन् ।

प्रतिक्रिया