बुधबार, वैशाख १२, २०८१

कांग्रेसको बागमती प्रदेश अध्यक्षमा बानियाँको उम्मेदवारी घोषणा

मेरोन्यूज २०७८ मंसिर १२ गते २२:२३

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मङ्सिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उनले जिकिर गरे ।

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि बताए । आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उनको भनाई छ ।

विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका बानियाँ विसं २०७४ मा मकवानपुर सङ्घीय क्षेत्र २ को ९ख० बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट निर्वाचित २२ सदस्य रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बनेका थिए ।

विसं २०४४ देखि राजनीतिमा होमिएका उनी नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको अनुभव हासिल गर्दै विसं २०७३ मा कांग्रेस मकवानपुरका सभापति भएका थिए । विसं २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उनले सम्हालेका थिए ।

प्रतिक्रिया