बिहीबार, वैशाख १३, २०८१

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि थप कडाई

मेरोन्यूज २०७८ मंसिर १२ गते १३:११

काठमाडौँ । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानमा निगरानी गरिएको छ ।

बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नु पर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ ।

हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिए । यो भाइरसको संक्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए ।

बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिए । उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिए ।

साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।

प्रतिक्रिया