मंगलबार, चैत ६, २०८०

प्रहरीको जागिर छाडेर गायनमा समर्पित कला लम्साल

नरेन्द्र रौले २०७८ मंसिर ११ गते १८:४७

काठमाडौं । गीत गाउनकै लागि प्रहरीको जागिर छाडेकी कला लम्सालको नसा नसामा गायनप्रतिको प्रेम बसेको छ । आफ्नो सुरिलो स्वरकै कारण उनले एक दर्जन मुलुक पाइला टेकिन् । यस्तो लाग्छ, उनी गीत गाउनकै लागि जन्मिएकी हुन् । गायनबाहेक उनले जीवनमा अरु केही सोचेकी नै छैनन् ।

ए साइँली, पातली, छड्के तिलहरी, ठिक्क पार्छौ मुखैले, मुसुमुसु हाँस, झिलिमिली मन्दिरैमा, लाहुरे आएन, धानैको चामल–धानैको चिउरा जस्ता गीतहरुमा कलाले आफ्नो आवाज भरेकी छिन् ।

चर्चित गायक पशुपति शर्मा, खुमन अधिकारीसँगको सहकार्यमा आएका उनका गीतहरु दर्शक तथा श्रोताहरुले अत्यन्तै रुचाएका छन् । कला लम्सालकै युट्युबमा अपलोड गरिएको चाइनाको किरिम ५८ लाख भन्दा बढी पटक हेरिएको छ । १६ लाख र १३ लाख पटक भ्युज भएका धानको चामल, ऐना हेरी हेरी उनका हिट् गीत हुन् ।

मंसिरको एक चिसो विहानी । बिहानीपख कलिलो घाम पोखिएको छ । हामी छौं अनामनगरको एक क्याफेमा । गायिका कला लम्साल आफ्नो गायन, सांगितिक यात्रा, जीवन, संघर्षको कथा सुनाउँन उत्सुक छिन् । पहिलो पटक सांगितिक प्रस्तुती दिन रसिया पाइलो टेकेकी उनी कम्ति खुसी थिइनन् । नहुन् पनि किन ? रसिया सजिलै कहाँ पुगिएको थियो र ? त्यो भन्दा अगाडी उनले गरेको संघर्षको कथा पनि लामै छ । त्यो थाहा पाउँन तनहुँ पुग्नु पर्छ ।

तनहुँका दृश्यहरु यतिखेर कलाको आँखाभरी नाँचिरहेका छन् । आफू जन्मिएको ठाउ र पढेको स्कुललाई उनले खुब मिस गरिरहेकी छिन् ।

Advertisement

पाँच जना दिदी, बहिनी मध्ये कला सबैभन्दा कान्छी हुन् । भारतीय सेनामा जागिर खाएका उनका बुबा छोरी नेपाल आर्मी बनेको देख्न चाहन्थे । तर, छोरीको मनमा भने नेपाल आर्मी होईन, ध्यान अन्तै मोडिइसकेको थियो । गीतमा गाउनमा उनलाई यति नशा बसिसकेको थियो कि टिभीको रिमोटलाई माइक बनाएर गीत गाउँथिन् । ऐना अगाडि उभिएर अभ्यास गर्थिन् । आफू पढेको थर्पुस्थित मीन मा.वि.का कुनै पनि कार्यक्रमहरु भाग लिन उनले छुटाइनन् ।

पहिलो पटक कक्षा ५ मा पढ्दा उनले गीत गाएर सुनाएकी थिइन् । शिक्षकहरु यति प्रभावित भए कि त्यसपछि त हरेक शुक्रबार उनकै लागि कार्यक्रमको आयोजना गरिदिन्थे । विस्तारै उनले जिल्लाव्यापी कार्यक्रममा पनि भाग लिन थालिन् । हरेक प्रतियोगितामा भाग लिएर फर्किदा रित्तो हात कहिल्यै फर्किनु परेन ।

एसएलसीपछि अध्ययनका पोखरा पुगेपछि त कला सांगितिक माहोलमा चुर्लुम्म डुबिन् । पोखरामा मेला महोत्सव भइरहन्थे । प्रतियोगिताहरुमा भाग लिदा उनी पहिलो हुन्थिन् । पोखराको न्युरोडमा संगीत सिकेकी उनले थुप्रै प्रतियोगिताहरुमा भाग लिइन् । अहिलेकी चर्चित गायिका प्रिति आलेसँगै उनले कुनैबेला दोहोरी साँझमा काम गरेकी थिइन् । दोहोरीमा उनले काम गर्न थालेको हल्ला तनहुँसम्मै पुग्यो ।

‘दोहोरीमा काम गर्दा सुरुमा अलि असहज भयो ।’ उनले ती दिनहरु सम्झिदै उनले भनिन्, ‘त्यसमाथि बुबाले पनि गीत नगाउँनु भनेर सम्झाउनु भयो ।’ त्यो समयमा गीत गाउँदा पनि नकारात्मक रुपमा लिइन्थ्यो । झन् दोहोरीमा गाउनु त राम्रो मानिदैनथ्यो । बुबाले सम्झाएपछि उनले गीत गाउन बन्द गरिन् । तीन वर्ष त गीत, संगीत ठप्पै भयो ।

स्कुल पढ्दा गीत गाउनबाट कलालाई कसैले रोकेनन् । जब कलेज लाइफमा प्रवेश गरिन् । सबैले रोक्न थाले । उनका मामाहरुले पनि रोक्न खोजे । घरमै पुगेर उनका बुबालाई पनि कतिले कुरा लगाइदिए । उनका कुरा काट्नेहरु त कति ।

स्नातक पढ्न जब कला काठमाडौं पसिन्, लुकीलुकी गीत गाउन थालिन् । राजधानीमा हुने प्रतियोगीताहरुमा भाग लिन छाडिनन् । उनले पहिलो एल्बम ०६५ मा निकालिन् ।

खुमन अधिकारीसँग स्वर भरेको ‘मर्न पाए खुसी हुन्थें’ बोलको त्यो गीत निकाल्दा ५० हजार रुपैंयाँ खर्च भयो । हातमा सिडी बोकेर उनी बिभिन्न रेडियो स्टेशनहरुमा धाइन् । नया कलाकार भनेर कतिले गीत बजाउन मान्दैनथे । कतिले त सिडी लिनै पनि मानेनन् । स्याङ्जा, पोखरा, तनहुँतिरका रेडियोहरुबाट भने राम्रो सहयोग पाइन् । ‘माहोल बेग्लै भयो ।’ उनले सुनाइन्, ‘चिन्ने मानिसहरु थपिदै गए । म एकदमै खुसी भएँ ।’

नेपाल प्रहरीमा प्रवेश

०६७ सालमा कला स्नातक दोस्रो वर्षमा पढ्दै थिइन् । नेपाल प्रहरीले कर्मचारी मागेको थाहा पाएपछि उनले आवेदन दिइन् । नभन्दै उनको नाम निस्कियो । कलाकार रुपमा उनले नेपाल प्रहरीमा प्रवेश गरिन् । ड्युटी गर्न पर्दैनथ्यो । प्रहरी दिवसको दिन बाहेक अरु दिन प्रहरीको पोशाक पनि लगाउनु पर्दैनथ्यो । दरबन्दी रौतहट भएपनि उनी काजमा भृकुटिमण्डपमै बसिन् । पेशाले नेपाल प्रहरीमा भएपनि उनी त जसरी पनि गायिका बन्न चाहन्थिन् । गायन यात्रालाई जसरी पनि अघि बढाउन चाहन्थिन् ।

सन् २०१३ मा उनले तेजस रेग्मीसँग नयाँ गीत बजारमा ल्याइन्, नाकै हेर्दा था’हुनी । हाइलाइट्स नेपालमा हेर्न पाइने त्यो गीत नसोचेकै चल्यो । दुबई, कतार लगायतका मुलुकहरुबाट अफर आउन थाल्यो ।

यता, नेपाल प्रहरीमा जागिर भएकाले उनी तत्काल त बाहिर जान सकिनन् । लामो समय बिदा नपाइने समस्या थियो । तर, राजधानीमा हुने कार्यक्रममा भने छोडिनन् ।

नेपाल प्रहरीको जागिर खाने सिलसिलामा उनले रौतहटको गौर जानु पर्ने भयो । अफिसले दशगजामा खटाएको थियो । ‘उता बस्न गार्‍हो भयो ।’ उनले कठिन समयको स्मरण गरिन् ‘छोडेर म फेरि काठमाडौं नै फर्किए ।’

यसैबीच उनी इन्स्पेक्टरका लागि पनि लडिन् । तर, नाम भने निस्केन । तीज र अरु बेला पनि निरन्तर गीत बजारमा ल्याइन् । कलाकारहरुसँग सम्बन्ध बिस्तार हुँदै गयो । अग्रजबाट पनि सहयोग पाइन् । उनलाई जागिर भन्दा आफ्नै मनले रोजेको कर्म मन पर्न थाल्यो । मेला, महोत्सवहरुमा व्यस्त हुन थालिन् ।

कलाले नेपाल प्रहरीमा ११ वर्ष जागिर गरिन् । गीत, संगीत क्षेत्रमै राम्रो हुँदै गएपछि उनले पहिलो लकडाउनमा त्यो जागिर छाड्नि । ‘म मा आत्मविश्वास बढ्दै गयो । परिवारबाट पनि साथ र विश्वास पाएँ ।’ ‘सुरुमा त निकै गार्‍हो भयो । यो त विद्रोह नै हो । मैले जितें ।’

पहिलो प्रेम पत्र

कलालाई पहिलो प्रेमपत्र कक्षा १० मा पढ्ने बेला आयो । सिधै बोल्न नसक्ने केटा घर नजिकै आएर चिठी दियो । चिठीमा लेखिएको थियो– म तिमीलाई हेर्न घर नजिकै दिनदिनै आएको हुन्छु । तिम्रो मायामा पागल भइसकेको छु । यस्तै यस्तै कुरा चिठीमा लेखिएको थियो । घरमा देख्छन् भनेर उनले त्यो चिठी च्यातिन् । उनलाई दोस्रो चिठी पोखरामा पिएन क्याम्पसमा पढ्ने बेला आयो । त्यो बेला साथमा मोबाइल त थियो । तर, फेसबुक थिएन । त्यो केटाले चार पेज चिठी लेखेको थियो । तिमीलाई असाध्यै मन पराउछु । हाम्रो माया कहिल्यै मर्दैन । हामी पछि विहे पनि गर्न सक्छौं भनेर लेखेको थियो । त्यो चिठी दुई वर्ष जति जतन गरेर राखें । च्यात्दा अपमान हुन्छ भन्ने लाग्यो । पछि आफै कता हरायो । तर, जुन केटाले मलाई दोस्रो प्रेम पत्र दिनुभयो, उहाँ र म अहिले फेसबुकमा छौं । बिगतको त्यो कुरा गरेर हामी हाँस्छौं पनि । त्यो बेला प्रेम गर्नुपर्छ भन्ने थिएन । पटक–पटक प्रेम पत्र पढें त्यो बेला । मनमा डर थियो । उमेर नै भएको छैन मेरो भन्ने लाग्थ्यो । परिवारको पनि डर थियो ।

जब कलाको नाम चम्किदै गयो । उनका फ्यानहरु बढ्दै गए । मोबाइल र फेसबुकमा म्यासेज आउने क्रम बढ्यो । फोनहरु आउन थाले । उनलाई प्रेम गर्नेको कमी भएन । ‘तपाईंले कसैलाई प्रेम गर्नु भयो कि भएन ?’

‘जीवनमा मैले कसैलाई मीठो प्रेम गरेकी छु ।’ उनले मुस्कुराउँदै जवाफ दिईन् ‘त्यो प्रेमभित्र सबै थोक पर्छ ।’ यसबारे थप बोल्न उनी चाहिनन् ।

एक दर्जन मुलुकको यात्रा

गीत गाएर कलाले एक दर्जन मुलुक पाइला टेकिन् । पहिलो पटकमै उनले रसियाको यात्रा गरिन् । त्यसपछि त अरु देश जाने बाटो खुलि हाल्यो । बेलायत, दुबई, कतार, कोरिया, भारत लगायतका ठाउहरु पाइला टेकिसकेकी छिन् ।

समाचारवाचिका बन्ने रहर

कलालाई पत्रकारिता पेशा एकदमै मन पर्छ । विशेषगरी उनलाई समाचारवाचिका बन्न रहर थियो । जुन रहर उनमा अझैँ पनि जिवितै छ । कलेज पढ्ने बेला पत्रपत्रीका किनेर उनी नियमित पढ्ने गर्थिन् । रेडियो, टिभीमा समाचार पढेको धोको मेटाउँथिन् । अभ्यास गर्थिन् ।

कोमल वलीले समाचार पढेको उनलाई खुब मन पथ्र्यो । अझैँ पनि अवसर पाए रेडियो र टेलिभिजनमा काम गर्ने उनको धोको छ । ‘मिडिया मेरो मनले चाहेको अर्को पेशा हो । त्यो बेला पढेका समाचार अझैँ पनि सुनाउँन सक्छु ।’ उनले भनिन् । मिडियाबाहेक उनलाई कानुन पेशा पनि मन पर्छ ।

कलाका रहरहरु

कलाले आफ्नो साथीसँग मिलेर सोहखुट्टेमा बुटिक व्यवसाय पनि थालेकी छिन् । हरेक दिन उनी शोरुम पुग्ने गर्छिन् ।

त्यसबाहेक उनी घरमै बसेर किताब पढ्न रुचाउँछिन् । उनलाई सपिङ गरुँ गरुँ लाग्दैन । असाध्यै मन परेको सामान छ भने किन्छिन् । बरु एउटा सामान किन्नु पर्नेमा ५ वटा नै किनिदिन्छन् । पर्फ्युम किन्न उनलाई एकदमै मन पर्छ । कामकै सिलसिलामा यात्रा हुनाले छुट्टै यात्रा गर्न मन पर्दैन । ब्युटिपार्लर महिनाको एक, दुई चोटी जाने गर्छिन् ।

छिटै नै गायक हेमन्त शर्मासँग कलाको लोक आधुनिक गीत आउँदैछ । अडियो तयार भईसकेको छ । भिडिओ तयार हुन बाँकी छ ।
‘फिल्म खेल्ने सोख छ ?’ छुट्टिनेबेला उनलाई सोधियो ।
‘सोख छैन । आफ्नै गीतमा मात्र अभिनय गर्ने सोच छ ।’ मुस्कुराउँदै उनले भनिन्, ‘मेरो रुचि त गीत, संगीतमै छ ।’

प्रतिक्रिया