शनिबार, वैशाख ८, २०८१

माओवादी पालिका अधिवेशन

देशभर पालिका सम्मेलन उदघाटन गदै प्रचण्डको पार्टी नेता कार्यकर्तालाई निर्देशन

नेतृत्व सकभर सर्वसम्मत गर्नुस्, नभएपनि जनवादी केन्द्रीयताको लेनिनवादी मान्यता अनुसारको कमिटि फर्मेसन गर्नुस्

मेरोन्यूज २०७८ मंसिर ११ गते १६:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतावद्ध पार्टी निर्माणका लागि पार्टीका नेता कार्यकर्तालाई सकभर सहमतिमा संगठनका कमिटि निर्माण गर्न आग्रह गरेका छन् ।

माओवादीको शनिबार देशभर शुरु भएको पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गदै अध्यक्ष प्रचण्डले सकभर सहमति र सहमति नभएपनि जनवादी केन्द्रीयताको लेनिनवादी मान्यताका आधारमा नेतृत्व चयन गर्न निर्देशन गरेका हुन् ।

माओवादीको शनिबार देशभर ७५३ ओटै स्थानीय तहमा पालिका सम्मेलनहरु भइरहेका छन् । त्यसलाई अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयमार्फत भर्चुअल माध्यमवाट एकैपटक विशेष सम्वोधन गरेका हुन् ।

उनले संगठनलाई उत्पादन र श्रमसँग जोडेर लैजान पनि निर्देशन दिए । पार्टीको वैचारिक राजनीतिक कार्यदिशा सही रहेको र कार्यदिशा अनुसार समाजवादी क्रान्तिको तयारीका लागि पार्टी संगठनहरुलाई पनि उत्पादन र श्रमसँग जोडेर लैजानुपर्नेमा प्रचण्डले जोड दिएका हुन् ।

माओवादी केन्द्र अन्य वुर्जुवा पार्टी जस्तो नभएको भन्दै उनले अरु पार्टी भन्दा भिन्न देखाउने र जनतासँग जोडिएर जानका लागि पनि पार्टीको वडादेखि केन्द्र सम्मका संगठनलाई उत्पादन र श्रमसँग जोडेर लैजानुपर्नेमा प्रचण्डले विशेष जोड दिएका हुन् ।

विगतमा पार्टीको हेटौडा महाधिवेशनले पार्टीलाई उत्पादन र श्रमसँग जोडन उत्पादन विग्रेड बनाउने निर्णय गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेकोमा कमजोरी भएको स्वीकारदै प्रचण्डले अव भने पार्टीले गल्ती गर्न नहुने बताएका हुन् ।

‘उत्पादन विग्रडलाई दहो सँग समात्न कमजोरी भएकै हो । उत्पादक, श्रम , सहकारी र सामुहिकतासँग जोडेर विकासको मोडेल निर्माण गरेर पार्टीका वडा कमिटि देखि पालिकाहँुदै केन्द्रसम्मले अगाडि जानुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा पार्टीले कतिपय विषयमा फरक मत पनि राखेको छ । आवश्यक परे त्यसलाई लिएर भएपनि आन्दोलनमा जाने गरी अव संगठनलाई तयार पारेर जानुपर्छ ।’

जहाँ जहाँ पार्टीको मातहात रहेका स्थानीय सरकार छन्, त्यहाँ पार्टीको नीति कार्यक्रम, सरकारका बजेटहरु, पार्टी संगठन र पार्टीका नीति कार्यक्रम, योजना अभियान र स्थानीय जनताको आवश्यकतालाई समन्वय गरेर विकासलाई नयाँ मोडेलमा विकास गर्न जरुरी रहेको प्रचण्डले बताए ।

समाजवादी अभियानलाई निस्तेज पार्ने राष्टिय अन्तराष्ट्रिय चुनौती अहिले पनि रहेको भन्दै प्रचण्डले त्यसको समाना गर्नका लागि पनि पार्टीलाई एकतावद्ध बनाउने, पार्टी र जनता वीचको सम्वन्ध बनाउने र जनसंगठन, पार्टी र जनताबीचको सम्वन्ध विकास गरेर जानुपर्ने प्रचण्डको भनाई छ ।

उनले युवा र विधार्थीलाई विशेष गरी आवश्यक पर्दा इँटको जवाफ पथ्थ्रले दिने गरी अगाडि बढ्न पनि निर्देशन गरे । ‘जनताको विजयी यात्रामा, वर्गसंर्घषको महाअभियानमा चुनौति यदि कसैले खडा गरिन्छ भने इटको जवाफ पथ्थरले दिने कोशिस गर्नुपर्छ । म युवा विद्यार्थी अझ हरेक क्षेत्रमा रहेका युवाहरुलाई म विशेष अपिल गर्छु ।’– प्रचण्डले भने ।

पार्टीमा १० लाख सदस्य पुग्ने

प्रचण्डले पार्टीमा नयाँ उभार आएको भन्दै पार्टी सदस्य संख्या १० लाख पुग्ने अनुमान गरे । औपचारिक ढंगले सदस्यहरुको झण्डै ८ लाख सदस्यहरु अहिले सफ्टवेयरमा संगठित भइसकेको र अन्य थप दुई लाख नविकरण लगायतका काम गरेर अझै जोडिन वाँकी रहेकोले १० लाख पार्टी सदस्य पुग्ने गरी उभार आएको प्रचण्डको भनाई छ ।

उनले यसलाई पार्टी पूर्नगठनको महाअभियान भएको बताए । ‘यो पार्टी पूर्नगठनको महत्वपूर्ण आयाम हो भन्ने लागेको छ । पार्टीको देशभर वडा सम्मेलन उत्साहका साथ सम्पन्न भएको र त्यही प्रक्रियाको अर्काे कडी पालिका सम्मेलनले प्रदेश सम्मेलनको तयारी र राष्टिय सम्मेलनको तयारीलाई महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

नेकपालाई देशी विदेशी प्रतिक्रियावादीले विभाजित गरेको भन्दै प्रचण्डले राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगमनका विरुद्धको संर्घषमा आफूहरु जितेर आएको बताए ।

प्रतिनिधिसभा विघटन गर्ने, नेकपालाई विभाजित गर्ने काममा ओली गुटको मात्र षड्यन्त्र नभएको भन्दै प्रचण्डले ओलीलाई मलजल गर्ने देशभित्रका प्रतिक्रियावादी र देशवाहिरका प्रतिक्रियावादीहरुको मिलोमत्तोको षडयन्त्रको एउटा कडीका रुपमा परिघटना विकसित भएको बताए ।

उनले अहिले माओवादी आन्दोलन र माओवादी नेतृत्वमाथि आक्रमण गर्ने काम भईरहेको पनि बताए । ‘यो हमला माओवादी आन्दोलन माथीको हमला थियो, माओवादी एजेण्डा उल्टाउने, नेतृत्व घेरावन्दी गर्ने षडयन्त्र थियो । त्यसमा नेपाली जनता फेरि विजय भएका छन् ।’– प्रचण्डले भने ।

उनले अब आफू पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेजको तयारीमा रहेको पनि बताए ।

‘हामी समाजवादी क्रान्ति साचो अर्थमा अगाडि वढाउन एउटा क्रान्तिकारी पार्टी आजको राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, उत्पादक शक्ति, सूचना प्रविधिमा भएको विकास र त्यसले मानिसहरुमा ल्याएको मनोविज्ञान सहित अध्ययन गरेर एक्काइसौं शताब्दीको क्रान्तिलाई विकास गर्नुपर्नेछ’ प्रचण्डले भने, ‘अव दस्तावेज तयारीको प्रक्रियामा छु । अन्तराष्ट्रिय परिस्थितिको अध्ययन, हाम्रो आफ्नै इतिहासको अध्ययन काहा राम्रो गरयौं, काहा कमजोरी गरयौं र हामीले अव अवलम्वन गर्नुपर्ने कामको योजना समेटेर दस्तावेज तयार हुन्छ ।’

‘एमालेको महाधिवेशन नभई कुम्भभेला’

माओवादी अध्यक्ष प्रचण्डले एमालेको चितवनमा जारी दशौं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । उनले एमालेको महाधिवेशन नभई कुम्भभेला चलेको र त्यहाँ जनतालाई भ्रम दिने काम मात्र भईरहेको आरोप लगाए ।

‘अरु पार्टीमा विचारलाई कुनै ठाउ छैन । हिजै देखिरहनु भएको छ, त्यहाँ कुम्भमेला जस्तो छ । त्यहा रिटोरि मात्र छ, जनतालाई भ्रम दिने मात्र कुरा छ । तर हामी भिन्न राजनीतिक विचारलाई प्राथमिकता दिन्छौं । अरुका तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषण गर्ने विषयमा तुलना गर्ने सकिदैन ।’ प्रचण्डले भने ।

उनले अब पार्टी तत्कालिन गठवन्धन निर्माण गर्ने काममा मात्र नअल्झिने र आफ्नै पार्टी निर्माणमा पनि उत्तिकै सक्रिय भएर लाग्ने पनि वताए ।

‘गठवन्धन बनाउनेमा हाम्रो वढी ध्यान गयो, तर पार्टी बनाउनेमा ध्यान भएन । तत्कालिन काममा मात्र अल्झिने र वैचारिक राजनीतिमा ध्यान दिएनौं, त्यसले केही ह्रास गरेको छ । अरु जस्तै गुट स्वार्थमा जाने खतरा देखियो । त्यसो भयो भने यसको ऐतिहासिक काममा लाग्न सकिदैन ।नयाँ संकल्प सहित अगाडी जानुपर्छ । त्यही संकल्पको प्रक्रियामै हामी नयाँ अभियानमा छौं । ’ प्रचण्डले भने –‘वैचारिक राजनीतिक कार्यदिशामा हामी आधारभूत रुपमा सही भनिरह्यौं, संगठनात्मक अस्तब्यवस्त भएपनि , तर त्यसलाई संगठित गर्ने, ब्यवस्थित बनाउने कुरामा लाग्छौं । संगठनलाई अस्तब्यस्त अव त्यसो हुन दिइने छैन । आफ्नै पार्टी संगठन बलियो बनाउने, जनधार वलियो बनाउने र आफ्नै खुटामा उभिने र हामीलाई माया गर्ने सहीद वेपत्ता, घाइने र जनतासँगको सम्वन्धलाई उच्च महत्व दिनेछौं ।’

प्रतिक्रिया