शनिबार, वैशाख १५, २०८१

निर्यात कमजोर दोषी व्यापारी !

किरण अधिकारी २०७८ मंसिर ११ गते ८:३९

काठमाडौँ । नेपालको वस्तु निर्यात वार्षिक एक खर्ब रुपैयाँबाट नाघ्न नसक्नुमा व्यापारीसमेत दोषी हुनसक्ने भन्दै सरकार अनुसन्धानमा पाइला टेकेको छ ।

थोरै नाफाको लागि गुणस्तरहीन वस्तु निर्यात गर्नुको साथै, कुटनीति क्षेत्रमा काम गर्ने कर्मचारी, आफन्त तथा विभिन्न विद्यार्थीद्वारा व्यक्तिगत प्रयोगको लागि भन्दै पठाउने गर्दा पनि भन्सारको समस्या नेपाललाई पर्दै गरेकाले सरकारले कसको के गल्ती छ भन्ने थाहा पाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुसन्धान शुरु गरेको हो ।

निर्यातमा व्यापारी सहभागी भएकाले लोभले लाभमा पर्दै नेपालको अप्रत्यक्ष बेफाइदा हुनेमा उनीहरुको आशंका पनि उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले जानकारी दिए । उनले गलत सबैको नहुने भएकाले अनुसन्धानद्वारा केही गर्न अघि बढेको उल्लेख गरे ।

पहिलो चरणको लागि मन्त्रालयले विदेशका व्यापारी तथा कुटनीतिक नियोगहरूसँग छलफल गरी उनीहरुबाट आएको गुनासोद्वारा हस्तकलाका वस्तु, गलैँचा, तयारी पोसाक निर्यातमा ठगी प्रविधि देखिएको जानकारी दिए । नेपाली व्यापारीहरुको गलत कदमले नेपाली वस्तु नै बन्देज गर्नु पर्ने अवस्था नआउनका लागि निर्यात गर्ने व्यापारी व्यवसायीलाई चेतावनीसमेत दिएको सहसचिव रेग्मीको भनाई छ ।

आर्थिक वर्ष २०७८/७९ को ३ महिनामा नेपालको कुल वस्तु निर्यात २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु. ६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी ५४ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको भएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात र तेस्रो मुलुकहरुमा हुने निर्यात थोरै बढेको छ भने चीनतर्फको निर्यातमा ५५.२ प्रतिशतले गिरावट आएको छ ।

चालू आर्थिक वर्षमा जस्तापाता, उनी, गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको तत्थ्यांकले देखाएको छ ।
बृहत्त आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१.७६ प्रतिशत र ५८.२२ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिको कूल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.६ प्रतिशत, ०.९ प्रतिशत र ६६.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.० प्रतिशत, पुँजीगत वस्तुको ११.० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.२ प्रतिशत, १३.१ प्रतिशत र ३५.७ प्रतिशत रहेका थिए । निर्यात–आयात मूल्य सुचाकांक छ । वार्षिक विन्दुगत आधारमा २०७८ असोज महिनामा भन्सार तत्थ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक १०.४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक १३.९ प्रतिशतले बढेको छ । २०७७ असोज महिनामा ५.१ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ असोज महिनामा ३.१ प्रतिशतले घटेको छ ।

यसरी खट्नुमा निर्यात व्यवसायीकै दोषी हो होइन, अनुसन्धानबाट पक्ता लाग्ने अपेक्षामा आफू बसेको व्यवसायीले नै जनाएका छन् ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा कुन व्यवसायी र उद्योगीले नकारात्मक कदम चाले त्यसलाई सचेतसँगै दोहोर्याए भने कारबाही गर्न सरकार अघि बढ्नु पर्छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया