शनिबार, वैशाख १५, २०८१

एमाले महाधिवेशन

निम्तो नदिएका माधव नेपाललाई ओलीले टिप्पणी नै गरेनन्

मेरोन्यूज २०७८ मंसिर १० गते १७:१८

चितवन । नेकपा एमालेको शुक्रबारदेखि चितवनको सौराहामा शुरु भएको दशौं महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाट विभाजित भई गठन भएको नेकपा (एकीकृत समाजवादी)ले निम्तो पाएन ।

सत्ता गठबन्धनका सबै दललाई निम्तो दिएर नारायणी नदी किनारको मञ्चमा विशेष स्थान दिए पनि माधव नेपाल नेतृत्वमा गठन भएको एकीकृत समाजवादीलाई एमालेले निम्तोसमेत दिएन ।

एमाले कार्यक्रममा नेकपा कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवादेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासम्मले मन्तब्य राख्ने मौका पाए ।

एमालेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो आए पनि प्रचण्ड सहभागी भएनन् । प्रचण्ड आफू नै चुनाव लड्ने तयारी गरेको जिल्ला चितवनमा एमालेले महाधिवेशन आयोजना गरेकोमा यसअघि नै प्रचण्डले चर्चा गर्ने गरेका थिए । उनले चितवनमा महाधिवेशन गरेको आफ्नो ओज अझै बढेको भन्दै आएका थिए । त्यसैले प्रचण्डले एमाले महाधिवेशनको उदघाटनसत्रमा पार्टीका तर्फबाट नेता लिलामणि पोखरेललाई पठाए ।

एमाले महाधिवेशनको उदघाटन समारोहमा कांग्रेस सभापति देउवाका साथै, माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु उपस्थित थिए ।

निकै तामझामका साथ गरिएको एमालेको दशौं महाधिवेशनको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिसकेपछि अध्यक्ष ओलीले सम्बोधन गरे ।

यसअघिका विभिन्न हरेकजसो कार्यक्रममा ओलीले आफूबाट अलग भएर गएका नेता माधव नेपालको निकै आलोचना गर्ने गरे पनि ओलीले महाधिवेशनमा कुनै टिप्पणी नै गरेनन् । सत्ता गठबन्धनका सबै दलहरुप्रति इंगित गर्दै ओलीले ‘प्रधानमन्त्रीजी मेरा खुट्टा तान्नेहरुले तपाईको खुट्टा समाइरहेका छन्’ भने पनि माधव नेपाललाई नै किटान गरेर कुनै आलोचना गरेनन् ।

बरु उनले ढंग नभएकाहरु मन्त्री भएर रमाइहेको भन्दै माधव नेपालका केही मन्त्रीहरुलाई इंगित गरेका थिए । ओलीले विकास र समृद्धिको धेरै कुरा गरे । पानीजहाजदेखि स्याटेलाइटकोसमेत चर्चा गर्न भ्याएका ओलीले माधव नेपाललाई न कुनै टिप्पणी गरे, न त कुनै आलोचना नै गरे । एमालेले लाखौं मान्छेको उपस्थितिमा सत्ता गठबन्धनकै नेताहरुलाई विशेष निम्तो दिएर मञ्च उपयोग गर्न दिँदा नेता नेपाललाई कुनै महत्व नै दिएनन् ।

ओलीले देशकै सबैभन्दा ठूलो पार्टी एमाले रहेको र यसको देशैभर उभार आएको बताइरहँदा एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका माधव नेपाल भने कर्णाली प्रदेशमा गएर ओलीप्रति धारेहात लगाइरहेका थिए ।

प्रतिक्रिया