बिहीबार, वैशाख १३, २०८१

कांग्रेस महाधिवेशन : यी नेताका श्रीमतिदेखि छोराछोरी बने महाधिवेशन प्रतिनिधि

सञ्जिता खनाल २०७८ मंसिर ९ गते १९:३१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्तका विभिन्न अधिवेशन जारी छ । नेतृत्वमा आउन नसके सक्रिय राजनीतिबाटै बाहिरिनुपर्ने जोखिममा रहेका नेताहरूले श्रीमतीदेखि छोराछोरीलाई नै सक्रिय राजनीतिमा अगाडि बढाएका छन् । महाधिवेशन प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरुका आफन्तहरु पनि महाधिवेशन प्रतिनिधि भएका आएका छन् ।

कुन नेताका को आए महाधिवेशन प्रतिनिधि ?
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पनि महाधिवेशन प्रतिनिधि आएकी छन् । आरजु डडेलधुराबाट निर्विरोध महाधिवेशन प्रतिनिधि बनेकी छन् ।

देउवाका भाइ र भतिजा पनि महाधिवेशन प्रतिनिधि भएका छन् । भतिजा प्रकाश देउवा (डा.आरजुका स्वकीय सचिव) र भाइ लोकबहादुर देउवा महाधिवेशन प्रतिनिधि भएका छन् ।

त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेकी हुन् । ४ पदका लागि ११ उम्मेदवार मध्ये संज्ञाले दोस्रो लोकप्रिय मत ल्याईन् । भने छोरा चिन्तन बेलायतबाट छनोट हुन बाँकी छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहका छोरा र श्रीमती महाधिवेशन प्रतिनिधि भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट सिर्जना र प्रभासमान सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । ११ औं महाधिवेशनमा प्रकाशमान जेलमा भएका बेला सिर्जना महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । तर, त्यसयता सिर्जना भूमिकाविहीन थिइन् ।

स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग महाधिवेशन प्रतिनिधि भएका छन् । अनुराग दाङको क्षेत्र नम्बर १ बाट सर्वाधित मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

उनी खुलातर्फ १० पदमा २१ प्रतिस्पर्धी थिए । अनुरागले कुल ६८५ मत झरेकोमध्ये ४९७ मत पाए । खड्काकी श्रीमती शिला केन्द्रीय समितिमै छिन् ।

उपसभापति विजयकुमार गच्छदारका कान्छा छोरा सुवास महाधिवेशन प्रतिनिधि भएका छन् । पार्टीको केन्द्रीय उपसभापतिका आकांक्षी गच्छदारले आफ्ना छोरा मोरङको क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

बेलायतबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका ४० वर्षीय उनले बाबुको राजनिति विरासतलाई अघि बढाउने घोषणा गरेका छन् । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम पनि महाधिवेशन प्रतिनिधि बन्न सफल भएका छन् ।

सहमहामन्त्री डा.प्रकाशशरण महतकी श्रीमती बिना पनि महाधिवेशन प्रतिनिधि भएकी छिन् । केन्द्रीय सदस्य डा.रामशरण महतकी श्रीमती रोसना पनि महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् । उनी पहिलो पटक महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।

स्वर्गीय नविन्द्रराज जोशीकी श्रीमती सपना पनि महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । उनको राजनीतिमा यो पहिलो पाइला हो । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाइहरु केदार र कांग्रेसको राजनीतिमा पहिलेदेखि नै सक्रिय छन् ।

केन्द्रीय सदस्य मोहन बस्नेतले श्रीमती माण्डवी राणा बस्नेतलाई ल्याउँदैछन् । भोलि निर्वाचन हुँदैछ । केही जिल्लामा अझै महाधिवेशन प्रतिनिधि चुनिने क्रम जारी रहेको छ । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले दक्षिण एसियाली देशहरूको नक्कल नेपालको राजनीति परेको देखिएको बताए ।

कांग्रेस जस्तो लोकतन्त्रवादी नेतृत्व चयन गर्दा सैद्धान्तिक वैचारिक योगदानको मुल्यांकन नहुनु नै नहुनु आफैमा गलत भएको उनको भनाई छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया