मंगलबार, चैत ६, २०८०

महिला हिंसा न्यूनीकरणमा प्रभावकारी कदम चाल्न आग्रह

मेरोन्यूज २०७८ मंसिर ९ गते १८:४६

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्नका लागि सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’भन्ने नाराका साथ आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ । यस अभियानलाई प्रभावकारी र अर्थपूर्णरुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आयोगले आह्वानसमेत गरेको छ ।

विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसासम्बन्धी उजुरीका आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकाले घरभित्र हुने महिला हिंसाको अन्त्य हुनसकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने देखिएको छ । आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन÷अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया