बिहीबार, वैशाख १३, २०८१

कञ्चनपुर कांग्रेसको जिल्ला सभापतिसहित बहादुरसिंह थापाको प्यानल घोषणा

मेरोन्यूज २०७८ मंसिर ९ गते १८:१३

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरमा हुन गइरहेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार बहादुरसिंह थापाले प्यानल घोषणा गरेका छन्। सदरमुकाम महेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्।

एनको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट र हेमराज ओझा छन्। सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ।
संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन छ। साउद र बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्। संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन्।
उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन्। जिल्ला नेतृत्वमा आउनु अघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए।
कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्वजिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन्। लेखकले अघि सारेका उम्मेदवार बोगटी कांग्रेस कञ्चनपुरको १५ वर्षसम्म सचिव भइसकेका नेता हुन्।
उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए।
राजनीतिमा निष्ठावान नेताका रुपमा संविधानसभा सदस्य थापालाई नेता साउदले अघि सारेपछि लेखकले साउदनिकट सादगी जीवन र निष्कलंक छवि भएका बोगटीलाई उम्मेदवार बनाएका हुन्।
बोगटीअघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए।

तर,दुबै जना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकै ‘प्रिय पात्र’लाई अघि सारेका हुन्।
नेता लेखकले सभापतिको उम्मेदवारका रुपमा अघि सारेसँगै नेता साउद र बोगटीबीच चार दशक लामो सम्बन्ध चिसिएको छ।

२०४८ सालमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदा साउदले बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद र लेखक कञ्चनपुरमा आपसमै प्रतिष्पर्धा गर्दै आएका छन्।

१४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म सम्पन्न भएका अधिवेशनमा पनि दुबै नेताहरु फरक–फरक समूह बनाएर आफूनिकट नेताहरुलाई चुनावी प्रतिष्पर्धामा उतारेका थिए।

कञ्चनपुरमा संस्थापन इतर मानिने संविधानसभा सदस्य दिवान विष्टले वडा अधिवेशनदेखि नै नेता साउदलाई सघाउँदै आएका छन्।

उम्मेदवारी घोषणा सभामा केन्द्रीय सदस्य साउदले कञ्चनपुरमा बलियो रहँदै आएको कांग्रेस पछिल्लो समय कमजोर बन्दै गएपछि आफूले थापालाई अघि सारेको बताए।
‘गुटका आधारमा नभइ वार्ता, संवाद र छलफलबाट पार्टीलाई एकतावद्ध पार्न बहादुरसिंह थापाको खोजी भएको हो,’ उनले भने, ‘कञ्चनपुरमा कांग्रेसको झण्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो।’

उम्मेदवार थापाले कञ्चनपुरमा कांग्रेसलाई पुनस्र्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले पार्टीका सबै कार्यकर्ताको आग्रह नकार्न नसकेर आफू उम्मेदवार बनेको पनि जिकिर गरे।

प्रतिक्रिया