मंगलबार, चैत ६, २०८०

जनगणना गर्न छाङरू र तिंकर गएको टोली हेलिकोप्टरमार्फत फिर्ता

मेरोन्यूज २०७८ मंसिर ९ गते १७:५३

कैलाली । दार्चुलाको ब्यास गाउँपालिका १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई जनगणना कार्य सम्पन्न भएपछि बिहीबार हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ । भारतले बाटो प्रयोगको अनुमती नदिएको र ब्यासबाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुँदा हेलिकोप्टरमार्फत खलंगा ल्याइएको हो ।

जोखिमपूर्ण बाटोमा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकाले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले बताए ।

जिल्लाभरीको जनगणनाकार्य लगभग सकिएको उनले बताए । गणकहरू साढे तीन दिन हिँडेर छाङ्गरू र तिंकरमा जनगणना गर्न पुगेका थिए।

प्रतिक्रिया