शुक्रबार, वैशाख ७, २०८१

एमाले महाधिवेशन

यी हुन्, मदन भण्डारीदेखि केपी ओलीसम्मले रुचाएका ‘कुशल मञ्च ब्यवस्थापक’

एमालेको पाँचौं महाधिवेशन यता सवै महाधिवेशन र मुख्य कार्यक्रमको मञ्च ब्यवस्थापनको काम मजदुर नेता बिनोद श्रेष्ठले सम्हाल्दै आएका छन्

शित्तल शर्मा २०७८ मंसिर ८ गते १७:५५

एमालेभित्र बिनोद श्रेष्ठको परिचय अनेक छन् । उनी पार्टीका केन्द्रीय सदस्य हुन् । मजदुरका नेता । कृष्णगोपाल श्रेष्ठका सालो । महिला तथा मजदुर नेतृ बिना श्रेष्ठकी भाइ ।

यतिमा मात्र उनको परिचय सकिदैन । उनी एमालेभित्रका कुशल ब्यवस्थापक पनि हुन् । पार्टीका ठूला–ठूला सभा सम्मेलनदेखि कार्यक्रम सम्मका मञ्च ब्यवस्थापन गर्नुपर्ने भयो भने शुरुमै नेताहरुले सम्झने नाम हो– बिनोद श्रेष्ठ ।

एमालेको अहिले १० औं महाधिवेशन दुई दिनपछि चितवनमा चल्दैछ । त्यसको जिम्मेवारी पनि अहिले उनै श्रेष्ठको काँधमाथि छ । बिनोदले एमालेको पाँचौं महाधिवेशन यताका हरेक महाधिवेशनको मञ्च आफैले ब्यवस्थापन गदै आएका छन् । नेताहरुले जिम्मेवारी पनि उनैलाई दिने गरेका छन् ।

अहिले चितवन महाधिवेशनको मञ्चको सम्पूर्ण ब्यवस्थापन उनैको जिम्मामा छ । पाँच सय मानिस मञ्चमै अट्ने १२० फिट लम्वाई र ६० फिट चौडाइको भब्य मञ्च ब्यवस्थापन गर्न चितवनमा महाधिवेशन तय भएदेखि नै उनी त्यत्तै खटिएका छन् ।

मंसिर ९ गते विहीबार साँझसम्म सबै मञ्च ब्यवस्थापनको काम सम्पन्न हुन्छ,’ श्रेष्ठले मेरोन्यूजसँगको कुराकानीमा भने ।

२०४९ सालमा तत्कालीन एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनको मञ्च व्यवस्थापन गर्नुपर्ने थियो । तत्कालिन माले र माक्सवादीबीचको एकतापछिको एकताको राष्ट्रिय महाधिवेशन हुँदै थियो । उदघाटन सत्र दशरथ रंगशाला र समापन खुला मञ्चमा गरिने गरी पार्टीले तय गरेको थियो । त्यसका लागि कस्तो मञ्च ? कसरी बनाउने ? पार्टीभित्र छलफल चल्दै गर्दा त्यसको ब्यवस्थापनको काम गर्ने गरी काठमाडौंको रैथाने श्रेष्ठ मञ्च बनाउन अघि सरेका थिए ।

पहिलो पटक पार्टीको महाधिवेशनको मञ्च ब्यवस्थापनको जिम्मेवारी लिएर उनले त्यसवेला आकर्षक मञ्च मात्र बनाएनन्, नेताहरुको मन पनि जिते । पाँचौ महाधिवेशनबाट निर्वाचित महासचिव मदन भण्डारीले त त्यसवेला मञ्च ब्यवस्थापनमा कुशलता प्रर्दशन गरेको र आकर्षक मञ्च बनाएको भन्दै श्रेष्ठको मुक्तकण्ठले नै प्रशंसा गरे ।

त्यही बेलादेखि पार्टीका महाधिवेशनहरुमा मात्र होइन, हरेक कार्यक्रमहरुमा मञ्च ब्यवस्थापनको काम आउने बित्तिकै श्रेष्ठको नाम आइहाल्छ । श्रेष्ठ पनि जिम्मेवारीवाट पछि हट्दैनन्, अगाडि सरिहाल्छन् ।

२०४९ यताका अवधिमा उनले पार्टीका सयौं मञ्च बनाइसकेका छन् । पार्टीका कुनै नेताका कतै केही भब्य कार्यक्रम गर्नुपर्दा पनि उनलाई सम्झने ‘टेन ’ पनि त्यसपछि बढेर गएको छ । शुरुमा उनले जसरी मञ्च ब्यवस्थापन गर्थे, त्यसमा उनले अहिले धेरै नै बदलाव पनि ल्याएका छन् । प्रविधिमा आएको विकासलाई पनि सँगै जोडेर अहिले उनले प्रविधिमैत्री मञ्च बनाउन थालेका छन् ।

२०५४ सालमा भने उनलाई मञ्च बनाउँदा आफ्नै पार्टीका नेताले खुकुरी आक्रमण पनि गरे । त्यसवेला महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणमा पार्टीभित्र चर्काे मतभिन्नता थियो । पार्टीको छैटौं महाधिवेशनवाट पार्टी विभाजित हुँदै थियो । त्यसवेला अखिल अध्यक्ष रहेका रुपनारायण श्रेष्ठहरु वामदेव गौतम, साहना प्रधानतिर थिए । उनले नेपालगञ्जमा तय भएको कार्यक्रम विथोल्न श्रेष्ठमाथि खुकुरी नै प्रहार गरेका थिए ।
त्यो घटना बिनोदले अहिलेसम्म पनि विर्सेका छैनन् ।

त्यही एउटा तितो घटनाबाहेक उनले अहिलेसम्म कुनै झन्झट र अप्ठ्यारो मञ्च ब्यवस्थापनको काम गर्दा भोग्नु परेको छैन । उनले एमाले माओवादी एकतापछिको नेकपामा प्रचण्ड–माधव नेपालसँग ओलीको चर्काे विवाद हुँदा र संसद विघटन पछि पार्टीभित्र चर्काेको लफडापछि नारायणहिटी अगाडि गरिएको कार्यक्रमको मञ्च पनि उनैले बनाएका थिए ।

नरायणहिटी दरवारको मुखमै बनाएको आकर्षक मञ्च ब्यवस्थापनमा पनि उनको पार्टी नेताहरुले खुलेर प्रशंसा गरेका थिए । सबैले मञ्चका अतिथि देखिने, सवै दृष्टिकोणले भब्य र सभ्य मञ्च ब्यवस्थापन गरेपनि त्यसवेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले श्रेष्ठलाई एमालेको मञ्च भनेको यस्तै प्रविधिमैत्री र भब्य हुनुपर्छ भनी स्यावासी पनि दिएका थिए ।

उनले मञ्च ब्यवस्थापन गर्दा सबैभन्दा पहिले सहभागि हुने जनमानसको संख्या, स्थान, प्रविधि र अतिथिहरुको सुरक्षाको विशेष ख्याल राखेर ब्यवस्थापनको तयारी गर्ने गर्छन् ।

‘सुरक्षाको हिसाबले के हुन्छ भनेर हेर्नुपर्ने हुन्छ । सहभागीलाई व्यवस्थापनको हिसाबले सहज होस् । जुलुसमा आइयो, सभामा आइयो, तर हामीलाई अप्ठेरो भयो भन्ने गुनासो सुन्ने कि शानदार व्यवस्था थियो भन्ने सुन्ने ? म सहभागीले आहा भन्नुपर्छ भनेर मञ्च मात्र होइन, साउन्ड सिष्टममा पनि मञ्च ब्यवस्थापन गर्दा विशेष ध्यान दिन्छु,’ श्रेष्ठले भने ।

अहिले पनि उनले ५ सय अतिथिहरुलाई एउटै मञ्चमा ब्यवस्थापन गर्न सकिने गरी भब्य प्रविधियुक्त मञ्च निर्माण गर्दैछन् । मञ्चकै अर्काे छुट्टै कुनामा ७२ जना कलाकारलाई अन्तराष्ट्रिय धुन बजाउन मिल्ने र प्रर्दशन गर्न सक्ने गरी मञ्च ब्यवस्थापनमा उनी अहिले जुटिरहेको छन् । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने गरी पनि उनले ब्यवस्थापन मिलाउँदैछन् ।

‘पार्टीको ५औं महाधिवेशनबाट मञ्च व्यवस्थापन गर्दै आएको छु, त्यसयताका पार्टीका अन्य सवैजसो कार्यक्रमको मञ्च पनि व्यवस्थापन गर्दै आएको छु, सायद गरेको कामको अनुभवले पनि मलाई पार्टीले मञ्च व्यवस्थापनको जिम्मेवारी दिँदै आएको होला,’ श्रेष्ठले भने ।

प्रतिक्रिया