सोमबार, जेठ ७, २०८१

प्रकाशमान सिंहको सभापति नछोड्ने अडानका साथ दौडधुप

कात्तिक अन्तिम साता भारत पुगेर आएपछि झन् प्रकाशमान कठोर, कसैलाई सभापति नछाड्ने अडानमा अडिग

सञ्जिता खनाल २०७८ मंसिर ८ गते १३:३९

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनमध्येका एक नेता गणेशमान र मंगलादेवीका पुत्र हुन – प्रकाशमान सिंह । सिंह कांग्रेस शीर्ष नेताहरुमध्येका एक हुन् । नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य बने । १२ औं महाधिवेशनको पूर्वसंध्यामा तत्कालिन देउवा गुट र अहिलेको संस्थापनबाट तत्कालिन कोइराला र अहिलेकोे पौडेल गुटमा आएर सिंह निर्वाचित महामन्त्री भएका थिए ।

Advertisement

१३ औं महाधिवेशनमा सभापतिमा बरिष्ठ नेता पौडेललाई र महामन्त्रीमा कोइरालालाई उनले सहयोग गरे । तर सधैं अन्य नेतालाई मात्रै सहयोग गरिरहन नसक्ने भन्दै अहिलेको महाधिवेशनमा आफुलाई सघाउँन नेताहरुलाई सिंहले आग्रह गरिरहेका छन् ।

सिंह १४ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीबाट कुनै हालतमा फिर्ता नहुने भन्दै कस्सिएका छन् । सिंहले आफूले विरासतको राजनीति नगर्ने, आफ्नै बलिबुतोमा राजनीति गर्ने भन्दै सभापतिमा दह्रो दाबी गदै आएका छन् । उनले आफू पूर्वमहामन्त्री भएको र उपत्यकालगायत जिल्लामा राम्रो पकड रहेको जिकिर पनि गरिरहेका छन् ।

‘पार्टीको नेतृत्व शेरबहादुर र रामचन्द्र दुबैले गर्न सक्दैनन्, पदमा बस्ने तर काम नगर्ने ? अनि पद मात्रै चाहियो भनेर हुन्छ ? पार्टी चलाउन क्षमता र अनुभव चाहिन्छ,’ कांग्रेस अहिले किन लथालिंग बन्न पुग्यो भन्ने उदाहरण दिँदै सिंहले जिल्ला–जिल्ला पुगेर कार्यकर्ताबीच खरो भाषण दिदै आएका छन् । सिंहले आफूनिकटहरूसँग अब पौडेलले बोलाएको गुट बैठकमा नजाने बरू आफ्नै बलबुताले सभापति लड्ने बताईरहेका छन् । त्यसको तयारीमा जुट्न पनि उनले आफुनिकटलाई अह्राई सकेका छन् ।


१० निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लाको पालिका अधिवेशन र प्रदेश सभा क्षेत्रीय अधिवेशनको नतिजाले काठमाडौंमा उनको राम्रो पकड रहेको देखाएको छ । खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । उनी पौडेल समूहबाट अलग भएर आफ्नो अस्तित्व देखाउने अभियानमा लागेको नेताहरु बताउँछन् । उनी अहिले कार्यकर्ता भेटघाटमा निक्कै ब्यस्त देखिएका छन् ।


पौडेलसँगको खटपटपछि भारत भ्रमणमा


पौडेलसँग भने मन्त्री छनौटदेखि सभापति देउवाले गठबन्धन दलका नेताहरु सम्मिलित राजनीतिक समन्वय समितिमा बस्न पठाएको लगायत विषयमा सिंह असन्तुष्ट बने । गत कात्तिक २६ मा पौडेलले बोलाएको गुट बैठकमा पनि उनी गएनन् ।


गुट बैठकको दुई दिन अघि नेपालगंञ्जमा कार्याकता भेटघाट गरेर सिंह रुपैडिया हुादै स्थलमार्गबाट दिल्ली पुगेका थिए । प्रकाशमान सिंह निकटका एक नेताका अनुसार उनले दिल्लीमा रहँदा भारतीय नेताहरू भेटे । भाजपाका अध्यक्ष जेपी नाडाले बोलाएर सिंह भारत गएको स्रोत बताउँछ । स्रोतका अनुसार भारत भ्रमणमा भाजपाका अध्यक्षले बोलाएर जाने सायद सिंह पहिलो कांग्रेस नेता हुन् ।


तर सिंहले भारत भ्रमणमा नाडासँगको भेटबारे खुलेर बताउन चाहेका छैनन् । बरु पारिवारिक भनेर टार्ने गरेका छन् । गत कार्तिक २७ गते उनी भारतबाट फर्केका थिए । सिंह निकट एक नेताले भने ‘प्रकाशमान दाई अझ भारतबाट आएपछि सभापति नछोड्ने अडानमा देखिनु हुन्छ ।’
सिंह अवका चुनावहरुमा गठबन्धनका नाममा चुनावी तालमेलको पक्षमा पनि छैनन् । सिंहले केन्द्रीय समिति बैठकमै चुनावी तालमेल नगर्न सभापति देउवालाई चेतावनी दिएका थिए । उनले सभापतिको दाबी नछोडने भन्दै तयारीमै जुटेपछि पौडेल पक्षका नेताहरु भने सिंहलाई फकाउन सिंह निवास चाक्सीबासी पुग्ने गरेका छन् ।


कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा चिनिएका सिंहले आफ्नो दाबी नछाडेपछि पौडेलसँको सम्बन्धसमेत चिसिएको छ । सिंहले यसपालि राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाए । त्यसपछि भने पौडेल–सिंह सम्बन्ध चिसिएको छ । कांग्रेस विधानअनुसार नचलेको उनको भनाइ छ ।


पौडेलसँगको सम्बन्ध चिसिएपछि सिंहलाई फकाउन उक्त समूहका नेताहरु लागिपरेका देखिन्छन् । तर सिंहले फकाउँन आउँने सबैलाई एउटै जवाफ दिने गरेका छन् ‘अहिलेलाई मलाई सभापति बनाउँनुहोस् ।’ सिंह सरकारमा पनि यस अगाडी नै उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भइसकेका छन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया