शुक्रबार, वैशाख १४, २०८१

खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह

मेरोन्यूज २०७८ मंसिर ७ गते २२:०१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् ।

उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए ।

समितिको बैठकमा सांसदहरुले भने विचौलीयाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगीने गरेको भन्दै विचौलीया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् ।

यस्तै, वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यानवयन नै नभएको भन्दै गृनासो समेत गरेका छन् ।
सांसदहरुले निर्णय भएको लामो समय वित्दा पनि कामदारले म्यानपावर व्यवसायीहरुलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको पनि बताएका छन् ।

त्यस्तै,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागी नेपाली नर्स पठाउने भएको बताए ।

सचिव गौतमले वेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागी पठाउने भएको बताए ।
उनले जीटुजी सम्झौता माफत् नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।

उनले कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नसिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताए ।
सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बर भित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया