शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको १४ औं महाधिवेशन

संस्थापनइतरका चार सभापतिका आकांक्षी चारतिर

वान टु वान र सामूहिक प्रयास सार्थक नभएपछि आ–आफ्नै तयारीमा

मेरोन्यूज २०७८ मंसिर ५ गते ९:५३

काठमाडौँ । आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशका लागि १५ जिल्लाको अधिवेशन सकिएको छ । तीबाहेक अधिकांश जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

मातहतका निकायमा प्रदेशसभा अधिवेशन आजसम्म सक्ने तयारी छ । मातहतमा अधिवेशन भइरहँदा केन्द्रमा नेतृत्व लिनका लागि नेताहरू दौडधुपमा लागेका छन् । स्पष्ट रुपमा दुई गुटमा विभाजित कांग्रेसमा संस्थापन र नेता रामचन्द्र पौडेल समूहका उम्मेद्वार हुने निश्चित भए पनि अहिले दुवै समूहबाट एकभन्दा बढी उम्मेद्वार हुने निश्चित भएको छ । संस्थापनबाट उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

संस्थापनइतरबाट धेरै नेताले सभापतिमा आकांक्षा राखेका छन् । देउवालाई सभापतिमा हराउन इतरको एउटा मात्रै उम्मेदवार बनाउनु पर्ने भए पनि सबैले एकै पदमा दाबी गर्दै आएका छन् । संस्थापनइतरबाट नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले सभापतिमा दाबेदारी घोषणा गरेका छन् ।

संस्थापनबाट उम्मेद्वारी घोषणा नुहँदै आफूहरुले एउटा मात्रै सभापतिको उम्मेद्वार बनाउने भनेर पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन नै गरेका थिए । तर, अहिलेसम्म आउँदा एउटा उम्मेद्वार हुने सम्भावना समाप्त भएको छ ।

गत मंगलबारदेखि शनिबारसम्म भएका वान टु वान भेटवार्ता र सामूहिक छलफलमा कुरा नमिलेपछि नेताहरू आ–आफ्नो तयारीमा लागेका छन् । मंगलबार सभापतिका आकांक्षी महामन्त्री डा. शशांक र डा. शेखरबीच भेटवार्ता भएको थियो । एउटै परिवारका दुई आकांक्षीले नै सभापतिमा दाबी गरेपछि पहिला परिवार मिल्ने सहमति बन्यो ।

महामन्त्री कोइरालाले दाजुसमेत रहेका डा. शेखरलाई समर्थन गर्ने र बुधबार बिहान पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो । बुधबार बिहान पत्रकार सम्मेलनको तयारी हुँदै गर्दा महामन्त्री कोइराला ८ गते गरौँला भन्दै बाहिरिए । त्यसपछि उनीहरूबीच भेटघाट त परै जाओस्, टेलिफोन वार्तासमेत हुन सकेको छैन ।

त्यसपछि उनीहरूले आफ्नो समूहका अरु उम्मेद्वारलाई फकाउने प्रयास गरे । त्यही प्रयास स्वरुप डा. शेखरले शुक्रबार साँझ अर्का उम्मेद्वार प्रकाशमान सिंहलाई उनकै निवास चाक्सीबारीमा पुगेर भेटे । र, आफूलाई सभापतिमा सघाए संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने आश्वासन दिए । सिंहले डा. शेखरलाई आफू सभापति बन्ने र शेखरलाई संसदीय दलको नेता र प्रधानमन्त्री बन्न आग्रह गरेपछि कुरा मिलेन । त्यसपछि उनीहरु निष्कर्षबिना उठे ।

शनिबार बिहान महामन्त्री डा. कोइरालाले नेता पौडेल र सिंहलाई उनीहरूकै निवासमा पुगेर भेटघाट गरे । साँझ तीन नेताबीच महामन्त्री कोइराला निवास महारागञ्जमा बैठक गर्ने कुरा भयो । त्यहीअनुरुप साँझ महाराजगञ्जमा बैठक भयो । तर, सबैका आ–आफ्नै कुरा दोहोरिए । कुनै सहमति भएन ।

बैठकमा महामन्त्री कोइराला र नेता सिंहले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे । आफूहरुले नेता पौडेललाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको नेता सिंहले जानकारी दिए ।

‘शशांक जी र मैले रामचन्द्र दाइलाई तपाईं अभिभावकको भूमिका निर्वाह गर्नुस् भनेर आग्रह गर्‍यौँ,’ उनले भने । तर, कसैले कसैको प्रस्ताव स्वीकार गर्ने अवस्था नदेखिएपछि बैठक बिना निस्कर्ष सकिएको सिंहले बताए । ‘केही निष्कर्ष निस्केन, छलफल मै सिमित भयो,’ सिंहले भने ।

महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि नेताहरुको दौडधुप बाक्लिए पनि सहमति बन्न सकेन । त्यतिमात्र होइन, नेताहरूबीच अब त एकले अर्कालाई सघाउने विषयमा सँगै बसेर छलफल गर्ने अवस्थाको अन्त्य भएको छ । संस्थापनइतरका एक सभापतिका आकांक्षी भन्छन्, ‘जति बसे पनि एकले अर्कालाई सभापतिमा सघाउने अवस्था देखिएन, अब त बस्नुको औचित्य सकिएको छ, सबै आ–आफ्ना तयारीमा लागेका छन् ।’

प्रतिक्रिया