शनिबार, वैशाख ८, २०८१

एमाले पदाधिकारीमा उम्मेदवारी : तैं चुप मैं चुपमा नेताहरू

फेरि दुई उपाध्यक्ष, एक उपमहासचिव पद थप गर्न आन्तरिक छलफल, महिलालाई पदाधिकारीमै ३३ प्रतिशित सुनिश्चित गराउन लविङ्ग

मेरोन्यूज २०७८ मंसिर ३ गते १४:१२

काठमाडौं । नेकपा एमालेकाे १० औँ महाधिवेशनको उद्घाटन हुन सात दिन बाँकी हुँदा एमालेका नेताहरूले कोही कसैले नेतृत्वमा उम्मेदवारी घोषणा गरेका छैनन् । अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरू बाहिर मौन रहेका छन् । अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएकाले त्यसबाहेकका पदमा समेत कोही कसैले उम्मेदवारी दिनेबारे मुख खोल्न सकेका छैनन् ।

असोजमा सम्पन्न पहिलो विधान महाधिवेशनले १५ सदस्य पदाधिकारी हुने गरी विधानको व्यवस्था गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापनमा असहज भइरहेको छ । पदाधिकारीका लागि करिब ५० जना नेताहरू आकांक्षी रहेका छन् । उनीहरूलाई समेट्ने अवस्था नभएपछि महाधिवेशनको हलबाट उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने गरी छलफल अघि बढेको छ ।

‘विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने विषयमा नेताहरूले भित्री छलफल सुरु गर्न थाल्नु भएको छ,’ एमाले स्थायी समितिका एक नेताले भने । हालका अध्यक्ष केपी शर्मा ओलीलाई एकपटक सर्वसम्मत अध्यक्ष बनाउने र त्यस मुनीका सबै पद बढाएर नेताहरूलाई समावेश गराउने तयारीअन्तर्गत विधान संशोधनबारे छलफल सुरु भएको ती नेताको भनाई छ ।

असोजमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ मात्रै बनाएपछि आकांक्षी नेताहरू धेरै भएको तथा नेताहरूलाई समावेश गर्न असहज हुने भए पनि नेताहरूले यो विषयमा छलफल अघि बढाएका छन् । एमाले उच्च स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, उपमहासचिव एक थप गरेर गरी तीन पद थप गर्ने विषयमा नेताहरूबीच छलफल सुरु भएको हो । उपमहासचिव घनश्याम भुसालले विधान पुन: संशोधन हुन सक्ने संकेत गरेका छन् । ‘केही-केही विषयहरु मिलाउनु पर्ने हुनसक्छ महाधिवेशनको हलमा संशोधनको प्रस्ताव जान सक्छ’, उनले भने ।

एमाले उपाध्यक्षमा धेरै आकांक्षी रहेका छन् । उनीहरुलाई समेट्नु पर्ने बाध्यता छदै छ, उपमहासचिव पनि एक मात्रै पद त्यसमा पनि अर्को एक पद बढाउदा नेताहरुलाई समेट्न सहज हुने भएकाले पनि संशोधन हुने एमाले स्रोतले जनाएको छ । विधान महाधिवेशनले उपमहासचिवमा एक, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ५ पद निर्धारण गरेको थियो । यदि, अहिले संशोधन भएमा उपाध्यक्ष र उपमहासचिवममा नेताहरुलाई व्यवस्थापन गर्न सहज हुनेछ ।

एमालेले पार्टीको अबको केन्द्रीय समिति बैठक महाधिवेशनको अघिल्लो दिन चितवनमै बस्ने निर्णय यसअगाडि नै लिइसकेको छ । त्यसमा विधान संशोधन गरेर थप २ उपाध्यक्ष र एक उपमहासचिव थप गर्ने प्रसताव ल्याउने र त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेर महाधिवेशनमा लैजाने र पारित गर्ने गरी आन्तरिक छलफलमा नेताहरु रहेको बताइन्छ । यद्यपि, यसबारेमा अहिले नै नेताहरूले मुख खोलिसकेका छैनन् । अध्यक्ष केपी ओलीको मुख ताकेर यतिबेला नेताहरु बसेका छन् ।

यतिबेला भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिरहेका छन् । तर उनले औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । त्यसैगरी घनश्याम भुसालले पनि अध्यक्ष ओलीलाई सर्वसम्मत छाड्न नहुने धारणा राखिरहेका छन् । यसो गर्दा ओलीलाई रावल र भुसालमध्ये एकले चुनौति दिन सक्ने सम्भावना रहेको छ ।

‘मत जति आउला त्यो अर्के कुरा हो पार्टीभित्र फरक विचार र सद्धान्त पनि छ नेतृत्व लिन सक्ने अरु नेताहरु पनि छन् भन्ने विषयलाई बचाई राख्न पनि ओलीविरुद्धको उम्मेदवारी आवश्यक रहेकाले उहाँहरु उम्मेदवारी दिने तयारीमा लाग्नुभएको छ । तर पदाधिकारीमा उहाँहरुलाई सुनिश्चित गर्ने हो भने त्यो संभावना कम हुन्छ’, एक नेताले भने । रावलले पनि अछाम पुगेर हार्नेको चिन्ता नगर्नुस केपी ओलीदेखि सबै नेताहरु एकैपटक जितेर त्यहाँ पुगेका होइनन् भन्दै आफू उम्मेदवार हुने बताएका थिए ।

स्रोतका अनुसार आगामी मंसिर ९ गते सौराहमा बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउनका लागि महाधिवेशनको हललाई आग्रह गर्नेगरी तयारी थालेको छ । त्यसो गर्दा अहिले वरिष्ठ उपाध्यक्षको दावी गरिरहेका ईश्वर पोखरेललाई चुनौती दिएका सुवास नेम्वाङ, रामबहादुर थापालाई समेट्न पनि सहज हुने बझाई नेताहरुमा छ ।

त्यसैगरी सुरेन्द्र पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न असहज हुने भएकाले महासचिवमा आफ्नो दावी रहने बताइसकेका छन् । त्यसकारण उनको दावीलाई न्यूनीकरण गर्न र उपाध्यक्षमा बढुवा गर्न सहज हुनेछ । त्यस्तै महासचिवको दावी गरिरहेका शंकर पोखरेललाई उपमहासचिवमा व्यवस्थापन गर्न र भुसाललाई एक कार्यकाल उपमहासचिवमै रहने गरी मनाउन सहज हुने बुझाई नेताहरुको छ ।

यसपटक पृथ्वी सुब्बा गुरुङले उपमहासचिव वा उपाध्यक्ष दावी गरिरहेका कारण उनलाई पनि उपाध्यक्षमा बढुवा गर्न सकिने नेताहरुले जनाएका छन् । त्यस्तै सचिवमा माओवादीबाट एमालेमा आएका नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई ल्याउने गरी छलफल थालिएको छ । १० बुँदेबाट एमालेमा रहेका र माओवादीबाट एमालेमा आएका नेताहरुलाई समेट्न पनि पदाधिकारीमा सर्वसम्मत गर्नुपर्ने बाध्यता एमालेलाई छ ।

हालका सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य त्यही पदमा दोहोरिने संभावना छ । सचिवमा केही नयाँ अनुहारले पनि रहर गरिरहेका छन् । तर सर्वसम्मत हुने भएमा धेरै आकांक्षीहरु ४५ सदस्यीय स्थायी कमिटितिर सुरक्षित हुने गरी तै चुप मै चुपमा बस्न सक्ने आंकलन पनि गरिन थालिएको छ ।

महिलालाई पदाधिकारीमा सुनिश्चित गर्न दबाब

एमालेले महिलालाई पदाधिकारीमा कुनै पनि पद आरक्षणको पद नराखेकोले खुल्लावाटै भएपनि महिलालाई पदाधिकारीमा सुनिश्चित गराउनु पर्ने दवाव पनि एमालेभित्र वढेको छ । अहिलेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य फेरि उपाधयक्षा करिव सुनिश्चित जस्तै देखिएपनि १५ सदसयीय पदाधिकारीमा अन्य महिलालाई पनि समेटनु पर्ने दववा एमाले नेतृत्वमा पुगेको छ ।

अष्टलक्ष्मी शाक्यलाई वरिष्ठ उपाध्यक्ष बनाएर जानुपर्ने भन्दै महिलाहरुले उपाध्यक्षमा आकाँक्षा देखाईहरेका गोमा देवकोटा, राधा ज्ञवाली, सीता पौडेल, उपमहासचिवमा आंकाक्षा गरिरहेकी विन्दा पाण्डे र सचिवमा आकाक्षा गरिरहेका पदमा अर्याल, डा शिवमाया तुम्वाहाम्फे, थममाया थापा, टुका हमाल, सुशीला नेपाल र सुजिता शाक्यवाट पदाधिकारीमा पनि कम्तीमा पनि ३३ प्रतिशित महिला अनिवार्य सुरक्षित गर्नुपर्ने पक्षमा एमालेका महिला नेतृहरुले पार्टीभित्र दवाव वढाउन थालेका छन् ।

प्रतिक्रिया