बिहीबार, वैशाख १३, २०८१

चर्चित गायक क्षेत्रीलाई लाग्यो कांग्रेसको चुनाव

महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा

मेरोन्यूज २०७८ कार्तिक ३० गते १८:०६

काठमाडौं । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्रीलाई कांग्रेस चुनावको चटारो छ । गायक क्षेत्रीलाई यतिबेला गीत गाउन होइन, पार्टीको चुनावमा भोट माग्न भ्याइनभ्याइ छ ।

पर्वत फलेबासका क्षेत्रीको अंगुर अमिलो, लौरी लुकाउनी, मधुबनैमा, बाबियोको कुुचो, सुनकेसरी माया, हिमाल सेतै छ, जस्ता दर्जनौं चर्चित गीत गाएका छन् ।

चर्चित गायक क्षेत्रीले नेपाली कांग्रेस सम्बद्ध गीतहरु पनि थुप्रै नै गाएका छन् । बीपी सम्झेर, कांग्रेसको सिपाही, कांग्रेसको मुटुमा क्रान्तिको गाथा छ, सुन सुन साथी जस्ता पार्टीका गीतहरु प्नि क्षेत्रीले गाएका हुन् ।

पर्वतका कांग्रेसी कार्यकर्तासँग भोट मागिरहँदा उनले आफू पर्वतको छहारी बन्न सक्ने बताएका छन् ।

‘पर्वतको माटोमा जम्मेर हुर्किँदै गरेको म सानो बिरुवा हजुरहरुको आर्शिवादले शितल छहारी बन्न सकुँु ।’ क्षेत्रीले भनेका छन् ।

यिनै चर्चित गायक क्षेत्रीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा गरेका क्षेत्रीले आफ्नो क्षेत्रबाट भोट माग्ने क्रम जारी राखेका छन् ।

क्षेत्रीले सामाजिक सञ्जालबाट आफ्नो लागि भोट मागिरहेका छन् ।

क्षेत्रीलाई उनका सहयात्री गायक गायिकाहरुले पनि साथ दिएका छन् । लोकदोहोरी गायक बद्री पंगेनीले पनि सामाजिक सञ्जालबाटै क्षेत्रीका लागि भोट मागेका छन् ।

प्रतिक्रिया