शनिबार, वैशाख ८, २०८१

क्रिस्मसपछि संसारका धेरै देशमा मनाइने चाड बन्यो दीपावली

सांस्कृतिक अतिक्रमणविरुद्ध कन्ट्रा फ्लो

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक २५ गते १९:५३

जबजब अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष जनवरी १ नजिकिँदै जान्छ, त्यति त्यति नेपालमा पनि काठमाडौंको ठमेल, कास्कीको पोखरा लगायतका स्थानसहित अन्यत्र पनि रौनक थपिँदै गएको देखिन्छ । त्यसैगरी इसाईहरुले मनाउने चाड क्रिसमस नजिकिँदै गर्दा नेपालका विशेषगरी शहरी क्षेत्रका पसल–पसलमा क्रिसमस ट्रीदेखि सेतो दारी बनाइएको साण्टा क्लसको सजावट देख्न सकिन्छ ।

यी बेला नेपालका युवायुवती खासगरी शहरी क्षेत्रमा बसोबास गर्ने र आफूलाई आधुनिक भन्ने देखाउन चाहनेहरु बढि मात्रामा रम्ने गरेको देखिन्छ । लाग्दछ यी दुबै चाड नेपालीका खास चाड हुन् । अनि यही बेला चासो र चिन्ता मिश्रित भनाईहरु पनि आउँछन्– कतै नेपाली युवा समूहले नेपालको मौलिक चाड बिर्सेर विदेशी रितिथितिमा मात्र रम्ने त होइन् ? कतिपय तर्क दिन्छन् – संसारभर चलेर आएको हावासँगै तथा समयसँगै चल्न सकेको हो ।

हुन पनि हो, नेपाली नयाँ वर्षमा भन्दा अंग्रेजी नयाँ वर्षमा रम्ने क्रम बढ्दै गएमा नेपाली मौलिक चाडबाड ओझेलमा पर्ने चुनौती अवश्य रहन्छ । आफ्ना चाडबाडलाई परम्परागत भन्दै मनाउन झिँझो मान्ने र विदेशी धर्मको संस्कृति तथा चाडलाई अन्ध नक्कल गरेर आधुनिक देखाउन चाहने खोक्रो व्यवहारले नेपाली मौलिक संस्कृतिलाई असर त अवश्य गर्छ नै ।

तर संसारमा पछिल्ला वर्षहरुमा वैदिक सनातनि संस्कृति अन्तर्गतका नेपाली मौलिक चाडबाडले डङ्का पिटिरहेको तथ्य आम नेपालीले थाहा पाउनु पर्ने भएको छ र यसमा गर्व गर्ने समय आएको छ ।

विश्वका अधिकांश देशमा पछिल्ला वर्षहरुमा दीपावली अर्थात तिहार क्रिसमस र अंग्रजी नयाँ वर्षपछि सबै भन्दा बढि देशमा मनाइने चाडको सूचिमा देखिएको छ । ओमकार परिवारका आस्थावान जनसंख्या पाश्चात्य देशसहित विश्वका विभिन्न क्षेत्रमा बढ्दो क्रम बढेसँगै यी चाडबाडहरु मनाउने देशको सूचि बढ्दै गएको छ ।

पछिल्ला वर्षहरुमा युरोप, अमेरिकासहित पाश्चात्य देशका सरकार प्रमुखहरुले समेत दीपावलीको समारोहमा प्रत्यक्ष सहभागिता जनाउने तथा श्रव्यदृश्य शुभकामना सन्देश दिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तो छ अवस्था

सन् २०१९ को तथ्यांकअनुसार विश्वका १ सय ६० देशमा क्रिसमस मनाइन्छ । क्रिसमस इसाई जनसंख्या बढि भएका देशमा मात्र नभई नेपाल, भारत, थाइल्याण्ड, श्रीलंका जस्ता हिन्दू तथा ओमकार परिवारमा आस्था राख्ने बढि जनसंख्या भएका देशमा पनि मनाइन्छ । साथै, पाकिस्तान, इजिप्ट र जोर्डन जस्ता मुस्लिम बाहुल्य देशमा पनि क्रिसमस चाड मनाउने गरेको देखिन्छ ।

एक तथ्यांक अनुसार, सन् २०१९ मा विश्वका ९० भन्दा बढी देशमा दीपावली मनाइएको थियो । यस वर्ष जहाँ हिन्दू आवादी नै छैनन्, त्यस्ता देशमा पनि दीपावली मनाइएको थियो । त्यसपछि शुरु भएको कोरोनाको संक्रमणकाबेला दीपावली लगायत क्रिसमस पनि मनाउने अवस्था रहेको देखिँदैन । यस वर्ष अर्थात सन् २०२१ मा कोरोना संक्रमण अलि मत्थर भएको अवस्थामा विश्वका ३० देशका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुले दीपावलीको शुभकामना दिए । यसले देखाएको छ कि दीपावली संसारका धेरै देशमा मनाउने एक महत्वपूर्ण चाडका रुपमा विकसित र लोकप्रिय हुँदै गइरहेको छ ।

को–कसले दिए यस वर्ष दीपावलीको शुभकामना ?

विश्वका ३० भन्दा बढी देशका राष्ट्रप्रमुख वा प्रतिनिधिले यस वर्षको दीपावलीको पावन उपलक्ष्यमा श्रव्यदृश्य शुभकामना दिएका छन् । त्यसैगरी विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरुले दीपावलीको समाहरोहमा आफै सहभागी भएका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले दीपावलीमा (लक्ष्मीपूजाको साँझ अर्थात नोभेम्बर ४) ह्वाइट हाउसमा दियो बालेर मनाए । यो समाचार संसारभरका प्रमुख प्रमुख अन्तर्राट्रिय संचारमाध्यमहरुले प्राथमिकता साथ प्रकाशन, प्रशारण गरेका थिए । त्यसैगरी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले हिन्दी भाषामा दीपावलीको श्रव्यदृश्य शुभकामना दिए ।

वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले श्रव्यदृश्य माध्यमबाट दीपावलीको सुन्दर शुभकामना दिए । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडाले श्रव्यदृश्य शुभकामना दिए ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको श्रव्य दृश्य शुभकामना दिइन् ।

त्यसैगरी भारतस्थित रुसी राजदुत निकोलाई कुदाशेवले दीपावलीको श्रव्यदृश्य शुभकामना दिए । वेलायती हवाई सेनाका प्रमुख माइक विग्सटनले पनि श्रव्यदृश्य शुभकामना दिए ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाले तथा भारतका राष्ट्रपति रामनाथ कोविन्द, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य उच्च पदस्थ व्यक्तिहरुले दीपावलीको शुभकामना दिनु सामान्य र नियमित विषय नै भयो ।

कोरोना मत्थर भएसँगै संसारभर मनाइयो दीपावली

नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड लगायतका देशमा मात्र होइन मुसलमान बाहुल्य तथा इसाई बाहुल्य देशहरुमा पनि दीपावली मनाउने क्रम हरेक बर्ष बढ्दो रुपमा रहेको छ ।

मध्यपूर्वका देशहरुमा दीयो र पटाका पड्काएर यस बर्षको दीपावली मनाइएको श्रब्यदृश्य समाचार टेलिभिजनहरुले प्रशारण गरेका थिए ।
अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी आरतीसहित भव्य रुपमा दीपावली मनाइएको थियो । यस बर्ष अर्थात सन २०२१ मा दुबईको बुर्ज खलिफामा ‘ह्यापी दिवाली’ लेखिएको थियो भने त्यहाँ भब्य नृत्यसहित कार्यक्रम आयोजना गरियो ।

सिंगापुरमा दिपावली महोत्सव नै मनाइयो, जहाँका विभिन्न सडकहरुमा दीपावलीको स्वागतका लागि भब्य रुपमा रंङ्गीचङ्गी बत्तिहरुको सजावटसहित आकर्षक उज्यालो पारिएको थियो । त्यसैगरी मलेशियाको क्वालालम्पुरमा भगवान रामको मूर्तिसहित भव्य रुपमा दीपावली मनाइयो ।

श्रीलंका, पाकिस्तान, बंगलादेशको ढाका, इन्डोनेशियामा पनि भव्य रुपमा यस वर्षको दीपावली मनाइयो ।

अमेरिकामा दीपावली मनाउने क्रम र अवस्था

अमेरिकामा दीपावली कहिलेदेखि मनाउन शूरु भयो ठ्याक्कै भन्न सकिँदैन । त्यहाँ रहेका हिन्दू तथा ओमकार परिवारका सदस्यहरुले आ–आफ्नो तरीकाबाट लामो समयदेखि नै दीपावली मनाउने गर्दथे । औपचारिक रुपमा राजकीय तहमा रहेका व्यक्तिहरुले भने डेढ दशक अघिदेखि यसलाई महत्व दिएको देखिन्छ ।

सन २००९ मा बराक ओबामाले ह्वाइट हाउसमा दियो जलाएर पहिलो पटक अमेरिकी राष्ट्र प्रमुखले दीपावली मनाउने कार्यको थालनी गरेका थिए । अश्वेत पृष्ठभूमिबाट आएर राष्ट्रपति बनेको ओबामा आप्रबासीहरु प्रति सद्भाव राख्ने गरेका थिए ।

उनीपछि राष्ट्रपति बनेका रिपब्लिकन पार्टीबाट आएका डोनाल्ड ट्रम्पले पनि यसलाई निरन्तरता दिए । अर्थात ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा दीपावली समारोह आयोजना गरे ।

हालका राष्ट्रपति जो बाइडेनले पनि यस बर्ष ह्वाइट हाउसमा दीपावली कार्यक्रम आयोजना गरी दीयो जलाए । यसबाट अमेरिकामा दीपावली मनाउने संस्कार ह्वाइट हाउसमा स्थापित हुन पुगेको भन्न सकिन्छ ।

दीपावलीमा राष्ट्रिय विदा दिने देशहरु

संसारकै सर्वाधिक शक्तिशाली मुलुक अमेरिकाको संसदमा दीपावलीमा राष्ट्रिय विदा दिनुपर्ने प्रस्ताव पेश गरिएको छ । यो प्रस्ताव पास भएमा अमेरिकाभर दीपावलीमा राष्ट्रिय बिदा घोषित हुनेछ । हाल न्युयोर्क, पेन्सलभेनिया र ह्वीष्टन राज्यका विद्यालयहरुमा विदा दिने गरिएको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड मध्ये ४० लाख हिन्दू तथा ओमकार परिवारको जनसंख्या रहेको छ ।

त्यसैगरी दीपावलीमा राष्ट्रिय विदा दिने देशहरुमा नेपाल, मलेशिया, फिजि सिंगापुर, मोरिसस, श्रीलंका लगायत रहेका छन् । मलेशियामा दीपावलीलाई हरी दिपावलीका रुपमा मनाइन्छ भने यस दिन मन्दिरहरुमा धुमधामका साथ पूजा आराधना गर्ने गरिन्छ । त्यसैगरी थाइल्याण्ड र अष्ट्रेलियाका केही क्षेत्रमा पनि सार्वजनिक विदा दिइन्छ ।

सांस्कृतिक अतिक्रमणविरुद्ध कन्ट्रा फ्लो

हाल संसारमा पाश्चात्य देशको हावाको दबदबा छ । खासगरी पाश्चात्य इशाई देशहरु आफ्नो सामरिक र आर्थिक बलका आधारमा संसारभर इशाई संस्कृति अन्धाधुन्ध फैलाउने अभियानमा नै छन् ।

इसाई सभ्यतालाई राम्रो मान्ने र अरुलाई अदृश्य रुपमा होच्याउँदै प्रभुत्व जमाउन धर्मान्तरणको बाटो उनीहरुले जोडतोडका साथ अख्तियार गरेको मुख्य बाटो हो । नेपाल पनि यसको नराम्रो गरी शिकार बनिरहेको छ । नेपालको राजनीतिक दलका दृष्टिविहिन यात्रा यसमा मलजल गर्ने मलिलो भिटामिन बनेको छ ।

यस्तो विषम परिस्थितिमा सनातन हिन्दू संस्कृति र सभ्यताअन्तर्गतको दीपावली चाड पाश्चात्य दुनियाँमा जोडतोडका साथ स्थापित हुनु आफैमा यस चाडको महत्वपूर्ण ओजले काम गरेको छ । साथै पाश्चात्य शक्तिशाली देशहरुले वैदिक संस्कृतिमाथि निरन्तर गरेको आक्रमणकाबीच पनि पाश्चात्य देशका सरकार प्रमुखहरु यस पर्वमा सहभागी हुनुपर्ने बाध्यात्मक प्रकारको अवस्था आउनु आफैमा एक अभुतपूर्व अवस्था अवश्य हो ।

दीपावली पर्वप्रति संसारभर देखिएको आकर्षणले पाश्चात्य देशहरुबाट निस्केर एकोहोरो रुपमा संसारभर बगेको सांस्कृतिक अतिक्रमणको बेगलाई रोक्न कन्ट्रा फ्लोको काम बलियो गरि गरेको छ ।

कल्चरल ‘हेजिमोनी’ सांस्कृतिक अधिपत्य

‘हेजिमोनी’ शब्द आफैमा अरुको अस्थित्वलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अस्वीकार गरि आफ्नो प्रभुत्व जमाउने कार्य जनाउने शब्द हो ।

हेजिमोनी राजनीतिक, आर्थिक तथा सांस्कृतिक गरि विभिन्न शैली र रुपमा विश्वमा कायम छ । खासगरी पहिलो चरणमा सृजना गरिएको राजनीतिक प्रभुत्वबीचको कालखण्डमा आर्थिक प्रभुत्वमा बदलिन पुगेको इतिहासमा देखिन्छ । पछिल्ला बर्षहरुमा सांस्कृतिक र आर्थिक रुपमा समन्वय गराएर अरु देशमाथि प्रभुत्व जमाउन केही देशहरु सक्रिय रहेका छन् ।

जसको गम्भीर प्रभाव नेपाल र नेपाल जस्ता कमजोर देशका सांस्कृतिक–आर्थिक संयन्त्रहरुमा परेको छ । जसले गर्दा यी देशका नागरिकहरुमा अरुको धर्म संस्कृति समृद्ध तर आफ्नो धर्म संस्कृति कमजोर लाग्न थालेको कटु तर यथार्थ अवस्था विद्यमान छ ।

यस्तो अवस्थामा विश्वको सबै भन्दा पुरानो धर्म संस्कृति एवं सभ्यताको एक चाड संसारभर छाउन पुगेको अवस्था आफैमा हरेक नेपाली, हरेक हिन्दू तथा हरेक ओमकार परिवारका सदस्यहरुका लागि गौरवको विषय हो ।

यस नयाँ उपलब्धिको कसिमा भारतवर्षका देशहरुमा नयाँ समन्वय, नयाँ आधार, आफ्नो विरासतको पुनस्र्थापना, आफ्नो ओरिजिनल रुटका बारेमा एक मत सृजना हुनुपर्ने देखिएको छ । हाम्रा पितापूर्खाले खडा गरेको ‘तमसोमा ज्योतिर्गमय’ विशिष्ठ सार्वभौम सन्देशबारे संसार जागृत भइरहँदा नेपाल र भारतबर्षका नागरिक जागरुक हुन आवश्यक छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया