सोमबार, जेठ ७, २०८१

मूल्यवृद्धिको चौतर्फी विरोध

सत्ता गठबन्धनकै विद्यार्थी संगठनबाट आन्दोलन घोषणा

मेरोन्यूज २०७८ कार्तिक २५ गते १९:०१

काठमाडौं । नेपाल आयल निगमले लगातार इन्धनको मूल्य बढाएकोमा सत्ता गठबन्धनकै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल निकट विद्यार्थी संगठनहरुले विहीबार आन्दोलनको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुसहित विभिन्न ६ विद्यार्थी संगठनले विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनीहरुले आयल निगमका महाप्रबन्धकलगायतका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि खाली सिलिण्डर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरेका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउने, कात्तिक २६ गते दुई घण्टा निगमका महाप्रबन्धकसहित कर्मचारीलाई प्रवेश निषेध र कार्यालय घेराउ गर्ने, कात्तिक २८ गते काठमाडौंको प्रदर्शनीमार्गमा खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशैभरको आयल निगम कार्यालयमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने तथा मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस सञ्चालन गर्ने रहेका छन् ।

संयुक्त विज्ञप्तिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थीका रुपनारायण श्रेष्ठ, वैद्य माओवादी निकट क्रान्तिकारीका हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका प्रकाश शाही र छैठौंका देवेन्द्र कुवँरले हस्ताक्षर गरेका छन् ।

Advertisement

प्रतिक्रिया