सोमबार, जेठ ७, २०८१

यसरी हुँदैछ गुहेश्वरीमा छठपर्वको तयारी (तस्वीरहरु)

जुली गिरी २०७८ कार्तिक २३ गते १३:३७

काठमाडौँ । मिथिला क्षेत्रमा छठपर्व सुरु भएको छ । छठको तयारीका लागि नदी क्षेत्र सजिन थालेका छन् । छठपर्वका लागि ढल सफा गर्न आ–आफै जुटेका छन् । भगवान सूर्य र षष्ठी (छठी)देवीको उपासना गरिने यो पर्वका लागि पवित्र जलाशयमा सुन्दरघाट बनाइएका छन् । यस्तै काठमाडौँको गुहेश्वरीमा पनि छठपर्वका लागि तयारी गरिदैछ ।

Advertisement

छठपर्वका लागि वर्तालुले गुहेश्वरी नदी किनार सजाउने, सफा गर्ने, टेन्ट लगाउने, मञ्च बनाउने काम गरिरहेका छन् । सूर्यलाई अघ्र्य दिइने यो पर्वमा घाटस्थल बेहुली झैं सिंगारिदै छन् । श्रद्धा, निष्ठा, आत्मिक शुद्धि र समर्पण पर्वको मूलभाव रहेकाले जताततै सूर्यदेव र छठीमाता करुणाका खानी रहेका चर्चा सुनिने गरिएको छ । विधिको गणनाले कात्तिक शुक्ल त्रितीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा पञ्चमी तिथिमा राति एकछाक मात्र अलिनो खानेकुरा खाएर वर्तालुले ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ (सझिंया–घाट) सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ । छठपर्व केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकोमा पछिल्लो समयमा पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया