बिहीबार, वैशाख १३, २०८१

पार्टीको काममा फर्किए झलनाथ खनाल

मेरोन्यूज २०७८ कार्तिक २२ गते २१:१२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आजदेखि पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भई उनी प्रमुख रहेका विदेश विभागको पहिलो बैठकमा सहभागी भएका थिए ।

उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा. शंकर खतिवडालाई मनोनयन गरेका थिए । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका थिए ।

गत साउन २० गते भारत नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका थिए ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएकाले त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया