शनिबार, वैशाख ८, २०८१

आगामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर जान गठबन्धनको सहमति

मेरोन्यूज २०७८ कार्तिक २२ गते २०:२०
फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले ११ सदस्यीय समन्वय समिति गठन गर्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार समन्वय समितिमा पाँच दलका दुई दुई जना नेता सहभागी हुने भएका छन् । समितिमा ११ जनामध्ये ३ जनाको नाम मात्र टुंगो लाग्न बाँकी रहेको छ ।

शेरबहादुर देउवा गठबन्धन दलको नेतृत्वमा प्रधानमन्त्री हुँदै गर्दा पाँच दलबीच समन्वय समिति बनाउने सहमति भएको थियो । सोहीअनुरुप गठबन्धन दलले दलीय संयन्त्रका रुपमा समिति गठन गर्ने निर्णय गरेको हो ।

आइतबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा रहेका दलहरूबीच आगामी काम कारबाहीका लागि छलफल गर्नु पर्ने भन्दै आफ्नो सामाजिक सञ्जालमा धारणा व्यक्त गरेका थिए । उनले सरकारी नियुक्ति तथा काम कारबाहीमा सत्ता गठबन्धन दलहरूबीच छलफल गरी भावी रणनीतिका बनाउनु पर्ने भन्दै टिप्पणी गरेका हुन् ।

यसको भोलिपल्ट आज बिहान प्रधानमन्त्री देउवाले गठबन्धन दलको बैठक बोलाएका थिए । गठबन्धन दलको बैठक बोलाउनु अघि देउवासहित शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छलफल गरेका थिए ।

गठबन्धन दलले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनलाई समेत लक्षित गरी समन्वय समिति गठन गरेको हो । यसअघि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले आगामी निर्वाचनसम्म गठबन्धन कायम हुने प्रतिक्रिया दिँदै गर्दा समिति गठन भएको हो ।

बैठकमा सहभागी नेताका अनुसार समितिमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट माधव नेपाल र एक जना हुने छन् । यस्तै, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव र एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ भने राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने छन् ।

प्रतिक्रिया