शनिबार, मंसिर १८, २०७८

भण्डारमै अर्बौंको धानबाली क्षति

मेरोन्यूज २०७८ कार्तिक २२ गते १८:४०

महेन्द्रनगर । कात्तिकको पहिलो साता सुदूरपश्चिम प्रदेशमा गएको बाढी र डुबानबाट यहाँ अर्बौंको धानबाली क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा रु चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति भएको छ ।

Advertisement

मन्त्रालयका सहायक सूचना अधिकृत टिकेन्द्र कुश्मीले दिएको जानकारीअनुसार कैलालीमा धानबाली लगाइएको ७८ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३५६ हेक्टरको धान पूर्णरुपमा क्षति पुगेको छ । कैलालीमा २४ हजार २५४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिमको अन्न भण्डारका रुपमा चिनिने गर्दछन् । प्रदेश कृषि मन्त्रालयले यहाँका नौवटै जिल्लामा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको लगत लिने कार्य अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

बाढीलगत्तै मन्त्रालयले प्रदेशभरको क्षति विवरण अनुमान गरेकामा यहाँ ४६ हजारभन्दा बढी हेक्टर क्षेत्रलफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाइएको छ । “कैलालीको क्षति विवरण प्राप्त भए पनि अन्यत्रको आइसकेको अवस्था छैन्”, सहायक सूचना अधिकृत कुश्मीले भने, “प्रदेशभरमा अन्य बालीभन्दा भित्र्याउने बेलाको धानबालीमा अर्बांैको क्षति भएको छ ।”

त्यसैगरी कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानबाली गरिँदै आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

Advertisement

ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले डुबानबाट सबैभन्दा बढी क्षति यहाँको दक्षिण क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकामा परेको बताए ।

प्रदेश कृषि मन्त्रालयले यहाँ एक हजार दुई सय हेक्टरमा लगाएको आलु, आठ हजार ६०० हेक्टरमा लगाएको तरकारी बाली, तीन हजार १७४ हेक्टरमा लगाएको तोरीवाल र एक हजार ५०० हेक्टरमा लगाएको उखुखेतीमा क्षति पुगेको जनाएको छ । बेमौसमी वर्षाबाट पीडित किसान सरकारले राहत दिनुपर्ने माग गरिरहेका छन् । सरकारले पनि क्षतिलाई वर्गीकरण गरी सोही अनरुप राहत दिने गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया