मंगलबार, वैशाख ११, २०८१

झलनाथ खनाल पार्टी काममा फर्किए

मेरोन्यूज २०७८ कार्तिक २२ गते १८:११

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा फर्किएका छन् । लामो समय देखि अस्वस्थ्य भएर उपचार र आराम घरी वसिरहेका खनाल आज देखि पार्टी काममा फर्किएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले बताए ।

पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित हुनु भई उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो, खतिवडाले भने, उहाँले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गर्नुभयो ।

खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा पनि जानकारी लिएको खतिवडाले बताए ।

खनाल गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा घरमै आराम गरेर बसिरहेका थिए । मिर्गौला उपचारका क्रममा खनालले शुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । मिर्गौला प्रत्यारोपणपछि खनाल दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका थिए ।
चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा सहभागी थिएनन । उक्त समय अवधी सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा भने खनाल नजाने खतिवडाले बताए ।

तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन् । नेकपा ९एकीकृत समाजवादी० गठन भएपछि खनाल एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए । तर, पार्टी कार्यालय स्थापना भएपछि भने उनी पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । अव उनी नियमित रुपमा कार्यालयमा रहने खतिवडाले जानकारी दिए ।

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक


नेकपा एसले पार्टीको केन्द्रीय कमिटि बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा गर्ने गरी केन्द्रीय कमिटिको बैठक बोलाईएको पनि उपमहासचिव खतिवडाले बताए । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते विहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने छन् । बैठकमा समसामायिक राजनीति, पार्टी र सरकारको कामको समिक्षा, न्यायलयभित्रको विवाद लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

प्रतिक्रिया