शनिबार, वैशाख १५, २०८१

छठको अवसरमा सिगारिँदै नदी किनार

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:५२

कैलाली । छठ पर्व सुरु भएसँगै कैलालीको मोहना नदी किनार सिगारिन थालिएको छ । मिथिला समुदायले मनाउने छठ पर्वका लागि मोहना नदी किनारलाई झकिझकाउ बनाउन सुरु गरिएको हो ।

प्रत्येक वर्ष मोहना नदीमा छठ पर्वको अवसरमा मेलासमेत लाग्ने गरेको छ । गत वर्ष कोरोनाको सन्त्रासले गर्दा जिल्ला प्रशासनले भिडभाडमा रोक लगाएसँगै छठ पर्व घर आँगनमै मनाइएको थियो । तर, यस वर्ष भन्ने कोरोनाको जोखिम कम भएपछि मोहना नदीमै छठ पर्व बनाउने तयारी गरिएको छ ।

‘यस वर्ष मोहना नदीमा १५० वटा स्टल रहने छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए, प्रत्येक वर्ष स्टलहरु बढ्दै आइरहेका छन्,’ उनले भने । उनले ४० देखि ५० हजार दर्शानार्थीहरुको सहभागिता रहने बताए ।

स्वास्थ्य मापदण्डको पालना गरेर छठ पर्व मनाइने तयारी गरिएको छ । आइतबारका दिन ‘अरबा–अरबाइन’ र आज (सोमबार) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि (मंगलबार) दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसाद स्वरुप खाने गरिन्छ ।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख घाट पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।

यसरी ‘सझुका अरख’मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

प्रतिक्रिया