शनिबार, वैशाख ८, २०८१

सर्वाेच्च अदालतमा नयाँ ट्विस्ट

आफूमाथिको घेराबन्दी तोड्न एकैसाथ प्रधानन्यायाधीशले चलाए तीर

सर्वोच्च अदालतका न्यायाधीश चुँडालले अन्य न्यायाधीशले मुद्दा नहेरिरहेका बेला इजलासमा बसेर मुद्दाको सुनुवाई गरी प्रधानन्यायाधीश राणालाई साथ दिएका छन् ।

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:२७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै निरन्तर आन्दोलन शुरु भइरहेको सर्वाेच्च अदालतमा सोमबार नयाँ ट्विस्ट आएको छ । तिहारको चार दिन बिदापछि सोमबारबाट अदालतमा नयाँ ट्विस्ट देखिएको हो ।

पहिलो :- प्रधानन्यायाधीश राणा पहिलेभन्दा जब्बर देखिन खोजेका छन् । यसअघि उनले न्यायाधीशहरूका तर्फबाट वार्तामा आएका न्यायाधीशहरूसँग आफूले मार्ग प्रशस्त गर्ने तर त्यसका लागि चैतसम्म सर्वाेच्चमा बस्न दिनु पर्ने र त्यसपछि राजीनामा दिएर बाहिरिने बताएको समाचार प्रकाशित भएका थिए । तर, उनले अहिले आफूले बारको आन्दोलन र न्यायाधीशहरुको असहयोगमा परेर राजीनामा नदिने अडान प्रष्टसँग राखेका छन् । त्यसका लागि राणाले आफ्नो बचाउका लागि केही प्रयास गरेको सोमबार सर्वाेच्च अदालतमा भएका केही गतिविधिले संकेत गर्छ ।

दोस्रो :- प्रधानन्यायाधीश राणाले अन्य न्यायाधीशसँग गरेको भद्र सहमति सोमबार आफैले तोडेका छन् । उनले न्यायाधीशहरूसँग न्यायालयभित्रको विवादको साँगोपाँगो एउटा निरुपणमा नपुगेसम्म वन्दी प्रत्यक्षीकरणको मात्र मुद्दा सुनुवाईका लागि पेशी तोक्ने र त्यसमा आफ्नो लागि पेशी नतोक्ने बताएका थिए । त्यही सहमतिपछि उनले तिहारअघि तिन दिन आफ्नो लागि कुनै इजलासमा पेशी तोकेनन् । अन्य न्यायाधीशका लागि वन्दी प्रत्यक्षीकरणको मुद्दाको पेशी तोके ।

तिहार बिदापछि उनले आफूविरुद्ध आन्दोलन गरिरहेका आन्दोलनकारीसँग नझुक्ने सन्देश दिँदै कडा देखिए । उनले आफ्नो लागि समेत इजलास तोके । उनले न्यायाधीश कुमार चुँडालसँग आफ्नो संयुक्त इजालस तोकेका हुन् ।

तेश्रो :- न्यायाधीशभित्रै फाटो पार्ने काम पनि सोमबार प्रधानन्यायाधीश राणाले गरेका छन् । उनले सर्वाेच्चमा आफूविरुद्ध भइरहेको घेरावन्दी तोड्ने प्रयासमा न्यायाधीशहरुकै बीचमा टुटफुट र विभाजन ल्याइदिने प्रयास गरे ।

त्यसका लागि उनले न्यायाधीशहरुमै विभाजन ल्याउने र आन्दोलन विफल बनाइदिन योजना बनाएका छन् । उनले न्यायाधीशहरुसँग व्यक्तिगत रुपमा डिल गरेर यो बीचमा आफूविरुद्धको घेरावन्दी तोड्ने प्रयास थालेका छन् । त्यसको ज्वालन्त उदाहरण सोमबारको इजलासलाई लिन सकिन्छ ।

उनले न्यायाधीश कुमार चुँडाललाई एकल र आफूसँगको संयुक्त इजालास पनि तोके । कुमारले वन्दी प्रत्यक्षीकरणको एकल इजालस सञ्चालन गरे । कुमारले एकल इजलासमा जिल्ला अदालत रूकुमविरूद्ध रूकुमकोट ५४ घ को हकमा नवल किशोर साहको बन्दी प्रत्यक्षीकरण मुद्दा परेको थियो ।

त्यो मुद्दाको सुनुवाईका लागि इजलासमा बसे । यसअघि चुँडाल अन्य न्यायाधीशकै जस्तो राणाको विरुद्धमा इजलास बहिष्कार गर्दै आइरहेका थिए । अन्य न्यायाधीश प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोकेपछि अब के गर्ने भन्ने अन्याेलका साथ छलफलमा रहेका बेला चुँडालले भने सोमबारको इजलासमा पेशी हेरेका हुन् । यसले न्यायाधीश राणालाई सोमबार अदालतभित्रबाट थप बल प्राप्त भएको देखिएको छ ।

कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसन आफ्नो राजीनामा माग गर्दै अर्काे चरणको थप संर्घषको कार्यक्रम बनाउन जुटिरहेको र पहिलो चरणकै कार्यक्रममा घोषित धर्नाका कार्यक्रममा मात्र रमाइरहेको बेला प्रधानन्यायाधीश राणा कडा देखिएका हुन् ।

उनले अदालतमा एकै दिन तीन थरी रणनीति अवलम्वन गरेर आफू कमजोर नभई जब्बर बन्दै गएको सन्देश दिए । अझ उनले मंगलबारदेख सबै न्यायाधीश र इजलासमा मुद्दाको सुनुवाई राख्ने र सुनुवाईमा जानेले सुनुवाई गर्ने र नजानेलाई केही नभन्ने गरी रणनीति बनाउन लागिपरेका छन् ।

प्रतिक्रिया