बुधबार, वैशाख १२, २०८१

आईसीसी टी–ट्वान्टी : सेमिफाइनलबाट बाहिरिएको भारत अन्तिम खेल खेल्दै

मेरोन्यूज २०७८ कार्तिक २२ गते १३:१२

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सोमबार भारत र नामिवियाबीच खेल हुदैछ । सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिवियाबीचको खेल दुबईमा राती ७ः४५ मा सुरु हुनेछ ।

सेमिफाइनलमा प्रवेश गर्न नसकेका यी दुईले जारी विश्वकपको अन्तिम खेल खेल्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेको भारत र नामिवियाबीचको खेल केवल औपचारिकतामा मात्र सिमित हुनेछ । प्रतियोगितामा चार खेल खेलेको भारतले दुई खेलमा जित हात पार्दा दुई खेलमा पराजय भागेको छ । यता नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।

भारतले पाकिस्तानसँग १० र न्यूजिल्यान्डसँग ८ विकेटको हार ब्योहोरेको थियो भने अफगानिस्तानलाई ६६ रन तथा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ नामिवियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेपनि अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।

नामिवियाले तेस्रो खेलमा पाकिस्तानसँग ४८ रन तथा न्यूजिल्यान्डसँग ५२ रनले पराजित भएको थियो । जारी प्रतियोगिता अन्तर्गत समूह २ बाट पाकिस्तान र न्यूजिल्यान्ड तथा समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया ​सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया