शनिबार, वैशाख १५, २०८१

युरोप फेरि कोरोनाको केन्द्र बन्दै : डब्लएचओ

मेरोन्यूज २०७८ कार्तिक १९ गते १९:५१

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोन भाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । संगठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए ।

विहिवार सार्वजनिक भएको तथ्यांकले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे । “हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।

पछिल्लो समयमा युरोपेली क्षेत्रअन्तर्गत पर्ने विभिन्न देशमा संक्रमितको संख्या बढ्दै गइरहेको उनले बताए । गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।

“कोरोना भाइरसबाट मृत्यु भएका र संक्रमित भएकाको यो संख्या अनुमान गरेभन्दा धेरै र फरक हो,” क्षेत्रीय निर्देशक क्युगले भने । उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया