शुक्रबार, वैशाख ७, २०८१

यी १२ कारणले माग्यौं प्रधानन्यायाधीशको राजीनामा

टीकाराम भट्टराई,वरिष्ठ अधिवक्ता २०७८ कार्तिक १७ गते १४:३१

हामी आन्दोलनको मोर्चामा छौं । सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गरेर हामी अहिले आन्दोलनमा छौं । आन्दोलनको मोर्चामा हामी किन लागेका छौं भन्ने बारेमा नेपाल बार एसोसिएसनले बताउँदै आएको छ । अहिले हामी सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेर आन्दोलनमा आउनुको १२ वटा कारण म संक्षिप्तमा राख्न चाहान्छु : –

१) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायमा अबरोध सिर्जना गर्नुभयो । यसका केही कारण पनि म राख्न चाहान्छु ।

पहिलो : संवैधानिक अंगको नियुक्ति सम्वन्धि विवाद हेर्न ११ महिनासम्म प्रधानन्यायाधीशले सुनुवाई तोक्नुभएन ।

दोस्रो : रन्जनहरी कोइरालाको मुद्दामा आफू विभाजित भएपछि सडकमा उठेको आन्दोलनलाई बार र हामी कानुन ब्यवासायीले न्यायपालिकाभित्र ल्यायौं र हामीले उहाँको उद्धार गर्यौं । नभए त्यतिबेलै उहाँ सडकको आन्दोलनबाट फ्याकिने अवस्थामा पुगिसक्नुभएको थियो । त्यो एउटा भद्र सहमतिपछि पुनरावलोकन भयो । पुनरावलोकनमा निस्सा पाइसकेपछि ३ पटकसम्म स्वयम् प्रधानन्यायाधीशले त्यो मुद्दा स्थगित गर्नुभयो ।

तेस्रो : गणेश रेग्मीको मुद्दामा असम्वद्ध इजालसमा उहाँले पेश गर्न आदेश दिनुभयो । जुन अहिलेको सर्वाेच्च अदालतको नियमावली वा संवैधानिक इजालस सम्बन्धि नियमावलीमा जुन मुद्दा जुन इजालससँग सम्वन्धित छ, त्यो निवेदन त्यही इजालसमा पेश गरिने छ भन्ने बाध्यात्मक कानूनी ब्यवस्था छ । त्यसको बिपरित असम्वद्ध इजालसमा पेश गर्न लगाउनुभयो र असम्वद्ध इजालसले त्यो सुनुवाई नै रोक्ने गरी आदेश ग¥यो । यो न्यायमा अवरोधको अर्काे कारण हो ।

चौथो : विशेष अदालतमा पाँच महिनादेखि इजलास खाली छ । त्यहाँ उहाँले न्यायाधीशहरु नियुक्त गर्न सक्नुभएन । करिव ८० जना उच्च अदालतमा न्यायाधीशहरु नियुक्ति गर्न सक्नुभएन । सर्वाेच्च अदालतमा एक जना न्यायाधीश खाली छ । त्यो पनि उहाँले नियुक्ति गर्न सक्नुभएन । समग्रमा न्यायमा उहाँले अवरोध सिर्जना गरेका यी कारणहरु छन् । त्यसैले हामीले राजीनामा माग्यौं ।

टीकाराम भट्टराई,वरिष्ठ अधिवक्ता

२) मुद्दा र न्यायाधीश तोक्ने कुनै पनि पारदर्शी आधार र मापदण्ड उहाँले तयार नगरीकन स्वेन्छाचारी ढंगले पेशी तोक्न थाल्नुभयो । दुई वर्ष अगाडि दर्ता भएको मुद्दा १२ नम्वरमा आउने, ६ महिना अगाडि दर्ता भएको मुद्दा १ नम्वरमा आउने, त्यस्तो मुद्दा भरसक आफ्नै इजालसमा नभए सधैंभरी आफैले पार्ने आफ्ना पक्षधर न्यायाधीशको इजालसमा तोक्ने काम गर्नुभयो । त्यसैले मुद्दा तोक्ने, न्यायाधीश र मुद्दा पारदर्शी मापदण्ड तोक्न सक्नुभएन ।

३) न्यायिक विचलनलाई उहाँले प्रोत्साहन गर्नुभयो । त्यसको दरिलो प्रमाण आफैले खडा गरेको न्यायाधीश हरिकृष्ण कार्की आयोगको रिपोट कार्यान्वयन गर्नका लागि उहाँ अनिच्छुक हुनु मात्र भएन, न्यायिक प्रतिष्ठानको कार्यक्रममा पुगेर म यो रिपोर्ट लागू गर्दिन भनेर सार्वजनिक अभिब्यक्ति दिनुभयो । त्यसैले न्यायिक विचलनलाई उहाँले प्रोत्साहन गर्नुभयो ।

४) सहकर्मीको सम्पूर्ण विश्वास उहाँले आर्जन गर्न सक्नुभएन । विश्वास गुमाई सकेपछि उहाँलाई नैतिक रुपमा त्यहाँ बस्ने अधिकार अब रहेन ।

५) न्याय प्रशासन र न्याय सम्पादन दुवैको प्रमुख हो – सम्माननीय प्रधानन्यायाधीश । संविधानले तोकेअनुसार, न्याय प्रशासन पनि स्वच्छ ढंगले चलाउनु सक्नुभएन । र, न्याय सम्पादन पनि स्वच्छ ढंगले गर्न सक्नुभएन । त्यसकारण संविधानको धारा १३६ को प्रधानन्यायाधीशले उल्लंघन गर्नुभयो ।

६) विचौलियाको प्रभाव, दवाव र त्रास देशब्यापी अदालतहरुमा कायम रह्यो । विचौलियाको दवाव, प्रभाव र त्रासलाई उहाँले हटाउन सक्नुभएन ।

७) राजनीतिक दलको नेताले जस्तो ‘पावर पोलिटिक्स’ गर्नतिर लाग्नुभयो । विभिन्न राजनीतिक दलका नेताहरुको मुद्दा यहाँ छन् । कहिले कुन राजनीतिक दलका मुद्दा आफ्नोमा राखेको छ, कहिले कुन राजनीतिक दलका नेताहरुको मुद्दा आफनो नजिकका न्यायाधीशकोमा राखेको छ । राख्नै नपर्ने मुद्दा निर्णय सुनुवाई (निसु)मा राखेर खबरदार तिमीहरु मेरो विरुद्धमा लाग्यौं भने तिम्रो हतियार मेरोमा छ भनेर राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्न लाग्नुभयो ।

८) नियुक्ति र सरुवाको कुनै पनि पारदर्शी आधार उहाँले खडा गर्न सक्नुभएन ।
९) आर्थिक विचलन र भष्ट्राचार चुलियो । उहाँको कार्यकालमा यस अगाडि कहिल्यै नभएको अधिकतम आर्थिक विचलन र भष्टाचार मौलायो ।

१०) अदालतमा विचाराधीन विषयमा उहाँले सार्वजनिक सञ्चारमाध्यममा गएर टिप्पणी गर्नुभयो । यो अदालतमा विचाराधीन मुद्दाको कानुन वमोजिम भएका छन् भनेर उहाँले रक्षा गर्नुभयो । संविधान वमोजिम हो त्यो अध्यादेश भनेर उहाँले डिफेन्स गर्नुभयो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।

११) स्वार्थ बाझिएका मुद्दामा न्यायाधीश अलग हुने अन्तर्राष्ट्रिय र नेपालको राष्ट्रिय अभ्यास विपरित स्वार्थ बाझिएका मुद्दाहरु पनि आफ्नै इजालसबाट उहाँले निरन्तर सुनुवाई गर्ने कुचेष्टा गर्नुभयो ।

१२) आफन्त, नातागोता, र निकटका ब्यीक्तहरुलाई खुलेआम मुद्धाको चलखेल गरिरहेको देख्दा पनि उनीहरुलाई निरुत्साहित गर्नुको साटो त्यस्ता ब्यक्तिलाई उहाँले प्रोत्साहित गर्नुभयो ।

यी कारणहरुले गर्दा हामीले उहाँको राजीनामा माग गरेका हौं । अरु पनि कारणहरु हुन सक्छन् । यो मैले ब्यक्तिगत रुपमा विश्लेषण गरेर निकालेको निश्कर्ष हो ।

आज प्रधानन्यायाधीश भन्दै हुनुहुन्छ– म राजीनामा गर्दिन । सडकवाट राजीनामा माग्दैमा राजीनामा म गर्दिन । उहाँले बोलेको यो भाषा भनेको राजनीतिज्ञले बोल्ने भाषा हो । उहाँ राजनीतिज्ञहरुले जस्तै किन संविधान बमोजिम मात्र वर्हिगमन हुन्छु भन्नुहुन्छ ? एउटा पार्लियामेन्टको सदस्य या प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जितेर आएको हुन्छ । चुनाव जितेर आएको ब्यक्तिले मलाई नैतिकता मतलव छैन । मेरो जनताले चुनेर पठाएको हो । त्यसैले म मेरो जनताको अनुभूतिबाहेक अरु कुनै कुरामा निस्किएर जान्न भन्छ ।

तर न्यायाधीश, त्यसमा पनि प्रधानन्यायाधीश भनेको नैतिकताको बलमा, जनआस्थाको बलमा टिक्ने पद भएकोले उहाँले नैतिकता विपरित भएपनि होस् म जान्न भन्न पाउनुहुन्न । त्यो भन्दा महत्वपूर्ण कुरा राजनीतिज्ञहरुले जसरी म संविधान विपरित बाहेक जान्न भन्न मिल्दैन । राजनीतिज्ञहरु आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका हुन्छन् ।
सम्माननीय प्रधानन्यायाधीशलाई उहाँको निर्वाचन क्षेत्र कुन हो ? भनेर म सोध्न चाहन्छु । उहाँको क्षेत्र भनेको उहाँ १० वर्ष वकालत गरेको आधारमा (गरेको होस् या नहोस्) त्यो आधारमा उहाँ पूनरावेदन अदालतको न्यायाधीशमा नियुक्ति हुनुभयो । पूनरावेदन अदालतको न्यायाधीश भएकै आधारमा उहाँ सर्वाेच्च अदालतमा न्यायाधीश हुनुभयो । उहाँको क्षेत्र भनेको कानुन ब्यवसाय हो । उहाँको क्षेत्र भनेको तीन वर्ष सर्वाेच्च अदालतको न्यायाधीश भएको आधारमा प्रधानन्यायाधीश हुनुभयो । त्यसैले आज उहाँको क्षेत्र या कानून ब्यवसायी हुन्, या सर्वाेच्च अदालतका १९ जना न्यायाधीशहरु हुन् ।

उहाँलाई म आह्वान गर्न चाहन्छु– तपाईँ आफ्नो निर्वाचन क्षेत्रमा मतपेटिका राख्न तयार हुनुहुन्छ ? बाकस राखौं । देशभरका बार इकाईहरुमा बाकस राखौं । चोलेन्द्र शम्शेरको पक्षमा तपाईँ भोट दिनुहुन्छ की विपक्षमा ? १९ जना न्यायाधीशहरुकोबीचमा बाकस राखौं, तपाई चालेन्द्र शम्शेरको पक्षमा हुनुहुन्छ की विपक्षमा ?

यदि उहाँले संविधान बमोजिम मात्रै जान्छु भन्नुभयो भने उहाँको निर्वाचन क्षेत्र त्यही हो । निर्वाचन क्षेत्रमा आएर जनमत लिन तयार हुनुहुन्छ भने हामी तयार छौं, हामी आह्वान गर्न तयार छौं । होइन भने देखिएको छ, नैतिक रुपले अथवा भौतिक रुपले परिणामले सम्पूर्ण रुपले उहाँ आफनो निर्वाचन क्षेत्रबाट पराजित भइसक्नु भएको छ । त्यसैले उहाँलाई सर्वाेच्च अदालतको प्रधानन्यायाधीशको पदमा बसिरहने कानूनी, नैतिक , संवैधानिक कुनै पनि अधिकार छैन । त्यस्तो आधार नभएकोले थप आन्दोलनको आँधीवेहेरीबाट वर्हिगमन हुनुभन्दा अविलम्व वर्हिगमन हुनु उहाँकै लागि हितकर हुन्छ ।

(भट्टराई नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता हुन् । बारको पहिलो चरणको संर्घषका कार्यक्रममा भट्टराईले ब्यक्त गरेको सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया