बिहीबार, वैशाख ६, २०८१

ब्लग

गाउँ घरतिरका गन्थनमन्थन- अब राजा आउँछन् रे

सहदेव तिमल्सिना २०७८ कार्तिक १८ गते १८:०८

अब राजा आउँछन् । आएनन् भने मेरो कान काटेर फाल्दिनु । निकै सुरिएर उनले बोले । एक दुई हप्ताको मात्रै कुरा हो । ढलक्क श्रीपेच लगाएर आउँछन् । काभ्रेका एक अधबैँसे स्थानीय व्यक्तिले आफ्नो तर्क सार्दै थिए । गाउँको चिया पसलमा भएको त्यो सानो छलफलमा त्यही उमेर समूहका अर्का एक जनाले प्रतितर्क गरे कहाँबाट आउँछन् राजा ?

तपाईलाई राजा आउने कुरा कस्ले भन्यो ? विस्तारै पसलमा भीड जम्मा हुँदै गयो । करिब आठ/दश जनाको समूहमा तर्क वितर्क सुरु भयो । वरिपरी हुने सबै एकाट्ट भए । म पनि त्यो छलफलको साक्षी भएर सुन्ने मौका पाएँ । छलफल करिब एक घण्टासम्म चल्यो । तर्कहरू विभाजित थिए । कोहीले राजा ल्याउन भारतले सहयोग गर्छ भनेर आफ्ना अपुष्ट तर्क राखे । अर्कोथरीले राजा होइन प्रधानमत्री चाहिँ भारतले बनाउँछ भनेर अनुमान लगाए । छलफलको कुनै आकार थिएन । निसन्देह ग्रामीण क्षेत्रका केही स्थानीय बासिन्दाको हाम्रो राष्ट्रिय राजनीतिप्रतिको अड्कलबाजी थियो ।

सहदेव तिमल्सिना

गाउँ घरतिर हाट बजार लाग्छ । हप्तामा एक दुईपटक । बजार भर्न आएका किसानहरू आफ्ना उत्पादन बेच्ने, अली-अली जम्मा भएको रकमले नुन तेल किन्ने, घर फर्की हाल्ने । गाउँमा ठाट्टिनलाई फुर्सद नै कहाँ हुन्छ र ? तर, बेला मौकामा हाट बजारमा गाउँका आफ्नै छुट्टै बहस हुन्छ । सौन्दर्य नै बेग्लै हुन्छ ।

नितान्त जीवन र भोगाईका साझा कथाहरू, उकाली र ओराली गर्दाका सुस्केराहरु, कसको कति धान फल्छ ? कसको गाईले कति दुध दियो ? कसकोमा खसी बाख्रा धेरै छन् ? यस्तै यस्तै । गाउँ घरतिर चुनावताबाहेक राजनैतिक गफ-गाफ कम हुन्छन् । कहिले काही हाट बजार भर्न आएका प्रायः पुरुषहरू चिया पसलमा जुट्छन् । आफ्ना बुझाई र अनुमानको काचो तर्क वितर्क गर्छन् ।

ग्रामीण महिलाहरूमा भने त्यस्तो अवस्था छैन । कामको चपेटाले गर्दा होला फुर्सद नै छैन। चिया पसलमा भएको त्यो छलफलले मेरो मनमा कौतुहलता भयो । प्रश्नहरू उब्जिए । एक खाले बेचैनी भयो । म त्यहाँबाट आफ्नो घरतिर लागेँ । घर पुग्दा काका आँगनको डिलमा बसेर मोबाइलमा केही हेर्दै हुनु हुन्थ्यो ।

काकाले म पुग्ने बित्तिकै तेस्तै अर्को अपुष्ट समाचार सुनाउनु भयो । यो देशमा अब सैनिक शासन लागू हुन्छ रे । संविधान च्यातेर सेना आउने तयारी छ रे । यस्तै यस्तै ।


कोरोना महामारीले गर्दा सबैतिर ठप्प थियो । त्यही फुर्सदमा मलाई केही समय गाउँ घरतिर भिज्ने मौका मिल्यो । छरछिमेक वरपर सबैतिर घुमफिर गर्ने अवसर जुट्यो । सबै उमेर समूहका मानिसहरूसँग छलफल गर्ने मौका जुर्यो । प्रविधिको विकास र प्रचारको रफ्तारले गाउँ घरतिर निकै गति लिइसकेको रहेछ छ । सबैको हात-हातमा मोबाइल लगभग पुगिसकेको । भेटघाट र चौतारीका गफ गाफलाई विस्थापित गरेर इन्टरनेटमा भिडियो कुराकानी गर्ने, सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू अभिव्यक्त गर्ने प्रचलन बढ्दो छ । त्यसमाथि कोरोना प्रभावले गर्दा सबैलाई घरभित्रै थुनिनु पर्ने अवस्था छ ।

काम सकेर घरै बस्दा फुर्सदिलो समयमा सामाजिक सञ्जाल चलाउने, युट्युबमा भिडियो हेर्ने जस्ता कुरा अभ्यस्त हुँदै गएको छ । अझ भनौँ मनोरञ्जनका साधन भनेकै मोबाइल भइसकेको छ । प्रविधिको विकाश वरदान कि अभिसाप ? समाज गतिशील हुन्छ । गतिशील भएकै कारण समाजमा परिवर्तन हुन्छ । व्यवस्था र विचारहरू, जीवन शैलीदेखि सामाजिक आयमहरु परिवर्तन भइराख्छन् ।

परिवर्तित समाजले पुराना विचार र व्यवस्थालाई भत्काउँदै, परिष्कृत हुँदै नयाँ-नयाँ विचार निर्माण गर्छ । घुमन्ते फिरन्ते युग वा ढुंगे युगको विकशित भएर दास युग, दास युगबाट विभिन्न चरण पार गर्दै आजको आधुनिक युगसम्म आइपुगेको छ । यहाँसम्म आइपुग्दा समाजमा असंख्य परिवर्तन भएका छन् ।

मानवीय स्वभावदेखि ठूला-ठूला सामाजिक राजनैतिक परिवर्तन भएका छन् । जो हामीले देख्दै भोग्दै रहेका छौँ । अझ, विज्ञान र प्रविधिको विकाशले संसारलाई नया स्वरूप नै दिएको छ । तर, जति विकासको डोरी तन्किँदै गएको छ उतिनै ग्राफमा मानव समाज अस्तव्यस्त बन्दै गएको छ । मानवीय मूल्य र सामजिक सद्भावमा डढेलो लागेर समाज सुख्खा बञ्जर जस्तै भएको छ । समाज विस्तरै समवेदना शुन्य हुँदै गइरहेको देखिन्छ । यस्ता कहाली लाग्दा दृश्यहरू हाम्रै शहर बजारदेखि दूर दराजका गाउँ बस्तीसम्म देख्न सकिन्छ ।

२१ औँ सताब्दीको दुई दशक यात्रा गरिसक्दा मानिस करिब-करिब यान्त्रिक भइसकेको भन्दा अत्युक्ति नहोला । प्रविधिले निर्माण गरेको पछिल्लो सरल यन्त्र मोबाइल फोन र इन्टरनेट प्रयोगले त झनै मानव आचरण, मनोविज्ञान, विचार र चेतनामा नै ठूलो हस्तक्षेप गरेको छ । यसको सकारात्मक र नरात्मक दुवै पक्ष छन् । यसको विकाशले भौतिक दुरी घटाएको छ । मानवीय दुरी बढाउँदै लगेको छ ।

हजारौँ माइल टाढा रहेका साथीभाइ, परिवारलाई एउटै स्क्रिनमा साक्षात्कार गर्न सकिन्छ भने एउटै कोठामा सँगै भएका साथीभाइ र परिवारसँग बेखबर जस्तै बनाएको छ । त्यस्तै, एउटा सामान्य मानिसको जन्म, विवाह, मृत्युदेखि राष्ट्रिय अन्तराष्ट्रिय घटना र परिवर्तनका सूचनाको आदान प्रदान र प्रचार प्रसारको पहिलो माध्यम भएको छ ।

एक ठाउँमा कुनै संस्था, समाज वा राज्यले सम्प्रेषण गरेको सूचना वा कोही व्यक्ति विशेषको जानकारी, विचार, आक्रोश वा भावना सजिलै ठूलो जमातको मोबाइल स्क्रिन सजिलै पुग्न सक्छ । त्यस्ता सामाग्री भर्चुअल हुने हुँदा प्रचार प्रसार गर्न यसका लागि ठूलो तिकडम गरी राख्नै पर्दैन । न खाममा चिठी बोकेर कोही पुर्याउन आउँछन्, कोही ढोल र झ्याम्टा बोकेर ध्यान खिच्न टोल टोलमा धाउँछ ।

केवल व्यक्ति-व्यक्तिले टिप्पणी र शेयर गरिदिए पुग्छ । यो अभौतिक स्पेस भएको हुँदा यसको प्रचाप्रसार पनि द्रुत गतिमा हुन्छ । त्यही भएर भौतिक उपस्थिति र छलफलभन्दा अभौतिक रुपमै मानिसहरुले आफ्ना भावनाहरु सामाजिक सञ्जालमा राख्ने गर्दछन् । चेतना निर्माणमा प्रतिउत्पादन आफ्ना विचारहरू धेरै मानिससम्म पुगोस् र आफ्नो प्रशंसा होस् भन्ने कुरा मानवीय स्वभाव नै हो । यो मानवको प्राकृतिक गुण हो । यसरी आफ्ना भावनालाई अधिक प्रचार गर्न होडबाजी नै चल्ने गरेको छ ।

प्रतिक्रिया