मंगलबार, चैत ६, २०८०

मुक्तिनाथमा बन्ने भो ढुंगाको सबैभन्दा ठूलो विष्णु मूर्ति

शेष घलेले गरे ५० लाख दिने घोषणा

मेरोन्यूज २०७८ कार्तिक ९ गते २०:२६

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ ।

उक्त क्षेत्रमा ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले ५० लाख दिने घोषणा गरेका छन् ।

एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । ललितपरको पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो ।

मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका छन् । घलेले आफ्नो ९१ वर्षका आमालाई मुक्तिनाथ दर्शन गराउन मगलबार मुक्तिनाथ लागेर आमा बुवाको नामबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घललेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् ।

यो अभियानमा धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउनले बताए । यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्ने पनि बताएका छन् ।

यो कार्य ब्यक्तिगत नभई राज्यका हुने भएकाले सरकारका तर्फबाट गुरुयोजना हुन सक्यो भने त्यहाँबाट पनि कोशिश गर्ने घलेले बताए ।

एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका पूर्वमेजर डम्मर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेको भनाई थियो । यो स्थान समुन्द्र सत ह भन्दा ३७१० मिटर उचाईमा छ ।

प्रतिक्रिया