मंगलबार, चैत ६, २०८०

शरणार्थी तस्करीमा युएनएचसीआरकै संरक्षण

मेरोन्यूज २०७८ कार्तिक ९ गते १८:५४

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (यूएनएचसीआर) को कार्यालय नै विदेशी नागरिकलाई नेपालमा ल्याएर शरणार्थीको कार्ड बनाउन लागि परेको छ ।

मानवीय नाता भन्दै नेपालमा विदेशी नागरिकलाई शरणार्थी कार्ड बनाएर शरण दिन लागिपरेको हो । दिल्लीमा रहेका अफगानी नागरिकलाई नेपालमा आएर बसोबास गर्न उपयुक्त रहेको भन्दै केही व्यक्तिहरुले नेपालस्थित यूएनएचसीआरसँग सम्पर्क गराइदिएको र सोही सम्पर्कको आधारमा उनीहरु नेपाल आएका हुन् ।

उच्च सुरक्षा स्रोतका अनुसार अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगेपनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो । उनीहरुलाई दिल्लीमा रहेका मानव तस्करहरुले नेपालस्थित यूएनएचसीआरका कर्मचारीसँग सम्पर्क गराइदिएका हुन् ।

नेपालको भिसा नीति उदार रहेको र खुला सिमाना रहेका कारण पनि द्वन्दग्रस्त मुलुकका नागरिकलाई नेपाल आएर बस्न सहज भएको छ । नेपालमा खुला सीमानाको कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै जान थालेका छन्  ।

यसमा यूएनएचसीआर समेत मिल्न थालेपछि नेपाल शरणार्थीहरुका लागि उर्वर भूमि बन्ने खतरा बढ्दै गएको छ ।

वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन । यसमा केही दिन यता अफगानी पनि थपिएका छन् ।

‘अफगानी नागरिक नेपाल आउनुमा यूएनएचसीआरका कर्मचारीको पनि भूमिका देखिन्छ, नेपाल सरकारले वेवास्था गरेको बेला उनीहरुलाई नेपालमा अस्थायी बसोबास दिएर नेपाललाई शरणार्थीहरुको उर्वर भूमि बनाउने सोच राखेको देखिन्छ’,– सुरक्षा निकायका एक उच्च अधिकारीले भने ।

कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो बनाएका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्राष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ ।

अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिएको फाइदा उठाएर यूएनएचसीआरले अस्थायी बसोबासको कागजात बनाइदिन्छ । प्रहरीका लागि भने यो चिन्ताको विषय बनेको छ ।
द्वन्द्वग्रस्त देशहरूबाट छिरेका शरणार्थी आतंकवादी समूहबाट परिचालित हुन सक्ने सम्भावित खतराबाट प्रहरी चिन्तित रहेपनि सीमा नाका खुला हुँदा उनीहरु नेपालमा सहजै प्रवेश पाइरहेका छन् ।
११ जना अफगानी नागरिक पक्राउ परेपछि प्रहरीले दिएको जानकारी अनुसार उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगान नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका थिए । त्यसअघि असोजमै दुई जना नेपाल आएका थिए । उनीहरुले नै अन्य अफगानीलाई नेपाल आउन प्रेरित गरेका हुन् । असोजमा आएका उनीहरुले यूएनएचसीआरबाट अस्थायी बसोबासको प्रमणपत्र लिइसकेका थिए ।
प्रहरीले दिएको जानकारी अनुसार अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो ।
नेपाल प्रहरीका अनुसार कात्तिक ३ मा सुनौलीबाट बेलहिया नाका हुँदै मोहम्मद जामराई स्तानिकजाई, उनकी श्रीमती नाजिफा स्तानिकजाई, २ छोरी नुरुल हाया स्तानिकजाई, मिसबाह जैनाव स्तानिकजाई र छोरा मोहम्मद रायन स्तानिकजाई काठमाडौं आएका हुन् । त्यसअघि २ जना अफगानिस्तानी पनि बेलहिया हुँदै हुलिया बदलेर नेपाल छिरेका थिए ।
स्रोतका अनुसार ३५ वर्षीय शाहिद गुज्जार र ४५ वर्षीय रवीन भाटी असोजमै नेपाल आएका हुन् ।

दिल्लीमा रहेकै बेला नेपाल प्रवेश गर्न सहज भए÷नभएको बुझ्न मोहम्मद जामराई स्तानिकजाईले गुज्जार र भाटीलाई सुनौली–बेलहिना नाका हुँदै नेपाल पठाएका थिए ।
बेलहियाबाट सहजै छिरेका दुवै जना काठमाडौं आएर सिधै नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (यूएनएचसीआर) को कार्यालय पुगेका थिए । यूएनएचसीआरले उनीहरूलाई अस्थायी बसोबासको कागजात बनाइदिएपछि भने दिल्लीमा रहेका जामराईलाई सम्पर्क गरी बसमा बेलहिया हुँदै नेपाल भित्रिन सहज भएको बताएका थिए ।
यसरी उनीहरु भित्रिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार सिनामंगलस्थित एक घरमा छापा मारेर ११ अफगानीलाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको छ । कुनै पनि मुलुकबाट प्रवेशाज्ञा नलिएकाहरूले वैधानिक रूपमा नेपाल प्रवेश पाउँदैनन । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रवेशाज्ञा नलिएका कुनै पनि विदेशी नागरिकले नेपाल प्रवेश पाउदैनन ।
‘अफगानी नागरिकले प्रवेशाज्ञा लिएको पाइएन उनीहरुलाई पक्राउ गरी अध्यागमन पठाइएको छ’, प्रवक्ता पोखरेलले भने ।
तर भैरहवा हुँदै भित्रिएका अफगान नागरिकका बारेमा न सीमा क्षेत्रको सुरक्षा संयन्त्रले पत्तो पाएन । सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका उनीहरू सुरक्षित बस्न पाएका छन् । सरकारले थाहै नपाई राष्ट्रसंघको नेपालस्थित शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालयले उनीहरूका लागि आवश्यक कागजात र बसोबासको प्रबन्ध गरिदिइसकेको अवस्थामा यूएनएचसीआरकै मिलेमतो किन नभन्ने भन्ने प्रश्न समेत उठेको छ । गृहमन्त्रालयले समेत यूएनएचसीआरकाे भूमिकाबाट शशंकित भएको छ । यही अवस्थालाई निरन्तरता दिने हो भने यूएनएचसीआरकै कारण नेपाल शरणार्थीहरुको मुलुक बन्ने खतरा रहेको निश्कर्ष गृहले निकालेको छ । गृहका अधिकारीहरुले अफगान शरणार्थी प्रकरणलाई गम्भिर रुपमा लिएको ति अधिकारीले बताए । यसबारेमा कुटनीतिक रुपमा उच्चप्रकारको असन्तुष्टि समेत गृहले यूएनएचसीआर कार्यालयमा जानकारी गराएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का प्रमुख डिआइजी धिरजप्रताप सिंहले नेपालमा अवैद्यरुपमा आएका अफगानी नागरिकलाई पक्राउ अध्यागमन कार्यालयमा बुझाइसकेको बताए । ‘हामीले अवैध रुपमा नेपाल आएका अफगानीहरुलाई पक्राउ गरेका छौ थप कारवाहीका लागि अध्यागमन बुझाएका हौ’, डिआइजी सिंहले भने ।
यसअघि काँकडभिट्टाबाट ठूलो समूहमा बर्मेली रोहिंग्या शरणार्थीलाई मानव तस्करले काठमाडौं ल्याएको थियो । अध्यागमन र सुरक्षा प्रशासनले त्यसको सुइँकोसम्म पाएका थिएनन । अहिले त्यसैगरी अफगान शरणार्थी बेलहियाबाट भित्रिएका हुन् ।
तालिवान सत्तामा आएपछि अफगान शरणार्थी नेपाल छिर्न सक्ने भन्दै सुरक्षा विज्ञहरूले सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पार्न र भारत हुँदै आउने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन सुझाव दिएपनि त्यसलाई वेवास्था गरिएको छ  । जसरी बर्मेली रोहिंग्या शरणार्थीलाई मानव तस्करले नेपाल ल्याउने गरेका छन् त्यसरी नै अफगानीलाई पनि ल्याउनसक्ने संभावना रहेको छ ।
सीमा क्षेत्रमा तैनाथ अध्यागमन, सीमा प्रशासन, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रलाई समेत मानव तस्करले छल्दै अफगानीलाई नेपाल ल्याउन सक्ने संभावना रहेको छ ।
नेपालमा अहिले भुटानी र तिब्बती शरणार्थीलाई मात्रै मान्यता दिइएको छ । तर, पाकिस्तानी, इराक, इरान, रोहिंग्या र अफगानिस्तानीसहित अरू ८ मुलुकका नागरिक नेपालमा गैरकानुनी रूपमा भित्रिएर ‘शरणार्थी’ का रूपमा छन् ।
प्रहरीका अनुसार म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ । यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित छ । अहिले १० देशका हजारभन्दा धेरै अवैध शरणार्थी नेपालमा बस्दै आएका छन् ।
खासगरी, तेस्रो मुलुक जानका लागि द्वन्द्वग्रस्त देशका नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । तर, अवैध शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै योजना बनाएको छैन । विभिन्न ठाउँमा क्याम्प बनाएर बसेका शरणार्थी के–कस्ता गतिविधिमा संलग्न छन् भन्नेमा राज्यले अनुगमनका लागि कुनै संयन्त्र बनाएको छैन । अवैध बसोवास गरिरहेका उनीहरूका गतिविधि निगरानी नहुँदा सुरक्षामा चुनौती थपिएको छ ।

प्रतिक्रिया