शनिबार, वैशाख ८, २०८१

निजी कम्पनीसँग मिलेर वायुसेवा निगमलाई कमजोर बनाउँदिनः मन्त्री आले

मेरोन्यूज २०७८ कार्तिक ९ गते १६:२९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गरे । तर आफूले े त्यसो नगर्ने उनले प्रतिवद्धता जनाए ।

थन्किएका दुई जहाज सञ्चालनमा ल्याउने

पर्यटनमन्त्री आलेले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

मन्त्री आलेले आईकाओको कालो सूचिबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उनले स्पष्ट गरे ।

अव निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाई थियो ।

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए ।

प्रतिक्रिया