मंगलबार, चैत ६, २०८०

पाँचौ पटक महाधिवेशन सार्ने तयारीमा कांग्रेस

तेह्र जिल्लामा वडा अधिवेशनकै अन्योल

सञ्जिता खनाल २०७८ कार्तिक ८ गते १७:५९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको कार्यतालिका फेरि परिर्माजन गर्ने तयारी गरिएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर उक्त तोकिएको मितिमा नहुने देखिएको छ । चौथौ पटक पनि क्रियाशील सदस्यता विवाद, कोरोना संक्रमणलगायतको बहाना बनाएर कांग्रेसले फेरि महाधिवेशन सार्न लागेको छ ।

२०७७ फागुन ७ देखि १० गतेसम्म पहिलो पटक १४ औं महाधिवेशन गर्ने मिति तोकेको थियो । त्यसयता कांग्रेसले चार पटक महाधिवेशनको मिति तोकिसकेको छ ।

गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । चौथौ पटक पनि क्रियाशील विवाद, समायोजन र कोरोना संक्रमणलगायत कारण देखाउँदै कांग्रेसले फेरि महाधिवेशन सार्न लागेको छ ।

अब फेरि पाँचौ पटक महाधिवेशनको मिति तोक्ने गृहकार्य भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

संविधानअनुसार भदौ २० गते वैधानिकतामा प्रश्न उठ्ने भएपछि भदौको १८ गतेबाट कांग्रेसले वडा अधिवेशन थालेको थियो ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन हुन सक्ने अवस्था नरहेको बताए । उनले कति समय पर महाधिवेशन सार्ने भन्ने अबको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारी बैठकले निर्णय गर्ने बताए ।

त्यसैगरी, कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत अहिले नै कति समयपछि सर्छ भन्ने अवस्था नरहेको तर्क गर्छन् । ‘केही दिनमा क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिन्छ । छठलगत्तै बाँकी रहेका जिल्लामा वडा अधिवेशन हुन्छन्,’ उनले भने, ‘केही जिल्लामा वडा अधिवेशन भएको छैन्, त्यसले पनि केन्द्रीय महाधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । ’

देउवानिकट कांग्रेसका एक नेताले केन्द्रीय महाधिवेशन मंसिर ९ मा सुरु गर्न समय नपुग्ने बताए । ‘करिब एक महिना पछि महाधिवेशन धकेल्ने तयारी रहेको छ ।’– देउवा निकट ती नेताले भने ।

संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने बताउँदै आएका छन् । उनले तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा जोड छ ।
निर्वाचनसमितिका संयोजक महादेवप्रसाद यादवले पूर्वनिर्धारित मितिमा अब महाधिवेशन सम्भव नरहेको तर्क गरे ।

कार्तिक ४ गते बाढी पहिरो निरिक्षण गर्न धनगढी पुगेका देउवाले महाधिवेशन सर्ने नसर्ने भन्ने विषयमा निर्वाचन समितिलाई नै सोध्न आग्रह गरेका थिए ।

अब पार्टीको महाधिवेशन धेरै पछाडी धल्केन नहुने कांग्रेस नेताहरु बताउँछन् । चुनावमा अरु पार्टीसँग लड्नुपर्छ कांग्रेस आफैँभित्र लड्न थाल्यो भने त्यसले राजनीतिक रुपमा घाटा पुग्ने कांग्रेस नेताहरुको भनाई छ ।

हिमाली १४ जिल्लामा मात्रै जिल्ला अधिवेशन सकियो

कांग्रेसले दशैं अघि नै २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने भनेको थियो । तर दशैंअघि १४ जिल्लामा मात्र जिल्ला अधिवेशन सकिएको छ ।

ओखलढुंगा, दोलखा, रामेछाप, गोरखा, ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, कालिकोट, रूकुमपूर्व, बझाङ, बाजुरामा मात्रै जिल्ला अधिवेशन सकिएको छ ।

अन्य ७ जिल्ला रसुवासहित डोल्पा, सोलुखुम्बु, सिन्धुपाल्चोक, जुम्ला, दार्चुला, धादिङमा मा कहिले हुने जिल्ला अधिवेशन भन्नेमै अन्योल देखिएको छ ।

तेह्र जिल्लामा वडा अधिवेशन नै अन्योल

कांग्रेसले भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको थियो । जसमा ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । तर अझै १३ जिल्लामा वडा अधिवेशन गर्न सकेको छैन ।

१३ जिल्लामा डोल्पा, रसुवा, बाँके, सुर्खेत, कैलाली, पर्सा बारा, रौतहट, सलार्ही, सप्तरी, महोत्तरी र सिराह रहेका छन् । यी जिल्लामध्ये सबैभन्दा बढी प्रदेश २ का जिल्लाहरूमा फर्जी क्रियाशीलको विवाद बढी छ ।

निर्वाचन समितिले पनि १३ जिल्लामा एकसाथ जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्णय गर्दै क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेको समिति सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए ।

कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्न केन्द्रीय समिति बैठकपछि मात्र मिति तोक्ने तयारी गरेको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया